काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वन क्षेत्रलाई वैज्ञानिक ढंगले विकास गर्दै निर्यात अभिवृद्धितर्फ ध्यान दिनुपर्ने बताए।


ADVERTISEMENT


बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालयले आयोजना गरेको २०८२र८३ आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन्।


ADVERTISEMENT

# # #


गोदावरीस्थित वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री बानियाँले त्रैमासिक समीक्षा केवल बजेट खर्चमा सीमित नभई विगतका कमजोरी पहिचान गरी सुधारात्मक कदम चाल्नुपर्नेमा जोड दिए। “बजेट खर्च मात्र हेर्न बसेका होइनौँ,” उनले भने, “नीति, तालिमको प्रभावकारिता, प्रविधिको उपयोग र जडीबुटी व्यवस्थापनको समेत गम्भीर मूल्यांकन आवश्यक छ।”

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशको ५३ प्रतिशत भू–भाग वनले ढाकिएको उल्लेख गर्दै बहुमूल्य जडीबुटीहरूको वैज्ञानिक अनुगमन र प्रशोधन उद्योग स्थापना गरेर नेपालमै मूल्यवृद्धि गर्न सकिने बताए। उनका अनुसार संरक्षणसँगै लाभांश आर्जन गर्ने मार्ग पहिचान गर्न सके वन प्रदेशको प्रमुख आम्दानी स्रोत बन्न सक्छ।

“हरियो वन नेपालको धन भन्ने नारामा मात्र सीमित भएर हुँदैन,” उनले भने, “वन हाम्रो आम्दानीको प्रमुख स्रोत बन्न सक्छ। संरक्षणसँगै लाभांश आर्जन गर्न सकिने मार्ग पहिचान गर्नुपर्छ।”

मुख्यमन्त्री बानियाँले पर्यटकमैत्री वातावरण बनाउन सेमिनार तथा गोष्ठीहरूलाई वातावरणमैत्री बनाउने र होटल–रेस्टुरेन्टलाई काठका सामग्रीबाट निर्माण गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव पनि दिए।

राष्ट्रिय वन, सामुदायिक वन र निजी वन सबैको सक्रियताबाट प्रदेशले पहिलो आम्दानीका रूपमा वन क्षेत्रबाट नै योगदान प्राप्त गर्न सक्ने उनको भनाइ थियो ।