काठमाडौँ – लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेश गरेको छ । लुम्बिनीले क्वालिफायर्स–२ अन्तगर्त बिहीबार विराटनगर किंंग्सलाई ४० रनले पराजित गर्दै पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि श्याम हिजलेटले सर्वाधिक ३४ रन बनाए । त्यसक्रममा उनले २८ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै नरेन भट्टले २१ बलमा १ चौका र २ छक्कासहित २१ रनको योगदान दिए । बनाउँदा मर्चेन्ट डीलांगेले १७ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा तिलक भण्डारीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १५ रन मात्रै खर्चिए । यस्तै रुबेन ट्रम्पलमेनले ३ ओभरमा ९ रन मात्रै दिएर महत्वपूर्ण २ विकेट लिए भने अविशेष गौतम र जेजे स्मितका नाममा पनि २ विकेट नै रह्यो ।

यस्तै शेर मल्लले समान १–१ विकेट हात पारे । विराटनगरले फाइनल पुग्न दोस्रो प्रयासमा पनि फाइनल पुग्न असफल भएको छ । यसअघि पहिलो क्वालिफायर्समा विराटनगर सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो ।

यता आजको जितसँगै लुम्बिनीले अब फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्नेछ । खेल शनिबार अपराह्न ४ बजे हुनेछ ।