काठमाडौँ – नेकपा (एमाले) का नवनिर्वाचित महासचिव शङ्कर पोखरेल राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेता हुन्। मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित उनी मालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को कुशल व्याख्याताको रुपमासमेत चिनिन्छन्।


ADVERTISEMENT


महासचिव पोखरेलको जन्म विक्रम सम्बत् २०१९ फागुन १५ गते हालको लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा भएको हो । आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेका उनले दाङको तुल्सीपुरस्थित महेन्द्र मावि टारीगाउँमा एसएलसी परीक्षाको तयारी गर्दागर्दै तत्कालीन शासन व्यवस्थाका कारण पढाइ छोड्न बाध्य हुनुपर्यो । त्यसपछि भारतको बनारसबाट ‘प्राइभेट’ परीक्षार्थीको रुपमा ‘बोर्ड’ परीक्षा उत्तीर्ण गरेका पोखरेलले व्यवस्थापन सङ्कायमा स्नातक तहको अध्ययन बनारसबाटै गरे ।


ADVERTISEMENT

# # #


विसंं २०३५ मा विद्यार्थी राजनीतिमा होमिनुभएका पोखरेल २०३६ साल र २०३७ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भए। यसक्रममा २०३७ सालमा उनी पहिलोपटक जेल परे । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा पटक–पटक पक्राउ परेका नेता पोखरेल भारतमा अध्ययनरत छँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरी प्रवासी विद्यार्थीको हक हितको पक्षमा सङ्घर्षरत थिए ।

अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको प्रथम अध्यक्षलगायतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका पोखरेलले नेपाल फर्किएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को बागमती अञ्चल कमिटीमा रहेर काम गरे । राजनीतिक यात्राका क्रममा तत्कालीन पार्टी नेता मदन भण्डारीसँग नजिक भई उहाँ पार्टी गतिविधिमा सक्रिय भए

विद्यार्थी फाँटमा क्रियाशील भइरहेको अवस्थामा २०४५ सालमा नेता पोखरेल देशको सबैभन्दा ठूलो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भए । उनी अनेरास्ववियुको उपाध्यक्ष हुँदै २०४७ सालमा माले–माक्र्सवादी एकतासँगै भएको ‘नेप्रवियु’सँगको एकतापछि अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । विद्यार्थी नेताको छबि बनाउन सफल नेता पोखरेल २०५१ सालमा प्रतिनिधिसभा सदस्यको जिम्मेवारीसँगै पार्टी राजनीतिमा क्रियाशील भए ।

नेता पोखरेलले २०५४ सालमा तत्कालीन विद्यार्थी नेत्री सुजिता शाक्यसँग जनवादी विवाह गरेका थिए । उनका दुई छोरी छन् । एमालेको २०५४ सालमा नेपालगञ्जमा सम्पन्न छैठौंँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका पोखरेल २०५९ सालमा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बने । विसं २०६५ मा बुटवलमा सम्पन्न आठौंँ महाधिवेशनबाट सचिवमा निर्वाचित पोखरेल २०७१ सालमा सम्पन्न नवौँं महाधिवेशनपछि पार्टी स्थायी कमिटी सदस्य भए ।

नवनिर्वाचित महासचिव पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले २०६२÷६३ सालको जनआन्दोलनका क्रममा राजधानी काठमाडौँमा सञ्चालित आन्दोलनको नेतृत्व गरेका थिए । पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) नेतृत्वको सरकारपछि २०६६ सालमा गठन भएको नेकपा (एमाले) नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री बन्नुने ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् । लामो समय पार्टी स्कुल विभागको जिम्मेवारीमा रहेर उनले पार्टीको प्रशिक्षण कार्यक्रममा सक्रिय भए । नेता पोखरेल २०७८ मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको १०औँ महाधिवेशनबाट सर्वसम्मतिले महासचिव चुनिए । एमालेको ११औँ महाधिवेशनमा प्रत्यासी नेता सुरेन्द्र पाण्डेलाई २२९ मतान्तरले पराजित गर्दै दोस्रो पटक महासचिवमा निर्वाचित भएका हुन् । रासस