काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकारले निर्मार्ण व्यवसायीमाथि आतंक सिर्जना गरेको बताएका छन् ।
शुक्रबार बागमती प्रदेश निर्माण व्यवसायी महासंघद्वारा आयोजित महासंघको पाचौं साधारण सभा कार्यक्रम सम्बोधन तथा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले देश निर्माणको एउटा ठूलो एउटा हिस्साका रुपमा रहेका निर्माण व्यवसायीमाथि भइरहेको राज्य आतंक बन्द हुनुपर्ने बताए ।
‘निर्माण व्यवसायका त्रुटी होलान्। राज्यको त्रुटि होला। दुवै पक्षको त्रुटिलाई सुधारेर देश, प्रदेश र स्थानीय तहका निर्माण कार्य गर्नुपर्छ ।’ उनले भने, ‘तर, निर्माण व्यवसायमाथि अहिले राज्यको आतंक बढेको छ र एउटा मानवीय व्यवहार पनि नरहेको अवस्था छ। यो रोकिनुपर्छ ।’
मुख्यमन्त्री बानियाँले तीनै तहका टेन्डर प्रक्रियालाई व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता औँल्याए । निर्माण व्यवसायीलाई देशको पूर्वाधार निर्माणसँग जोडेर लैजानुपर्ने बताउँदै उनले भने, ‘देश स्टन्टबाजीले चल्दैन। देश साँच्चिकै नियम कानुनद्वारा चल्दछ। स्टन्टबाजी बन्द गरौँ ।’
साथै उनले निर्माण व्यवसायीहरूको तमाम समस्यालाई समाधान गर्नका लागि बागमती प्रदेश सरकार सधैँ तयार रहेको बताए ।




























































