काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफु पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार भएको बताउएका हुन् । उनले समयमा नै पार्टीको महाधिवेशन गर्न आफू क्रियाशिल रहेपनि विभिन्न स्थानमा क्रियाशील सदस्यको काम ढिला भइरहेको बताए ।
अहिले पनि केहि नेताले महाधिवेशन सार्ने कुरा गरिरहेको भन्दै उहाले पार्टीको महाधिवशेन सम्पन्न नभइ आम निर्वाचनमा सहभागी नहुने स्पष्ट पारे । उनले नियमित महाधिवशेनलाई अवरुद्ध गर्ने काम भए विशेष महाधिवेशनले भएपनि एउटा परिणाम निकाल्ने बताए ।
त्यस्तै महामन्त्री थापाले संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुनुपर्ने र संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनपछि भ्रष्टाचार र कुशासन अन्त्यका साथै कुनै पनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने उनको भनाई छ ।
उनले निर्वाचनमा जाँदा यसअघि भएका कमजोरीप्रति जनतासमक्ष क्षमा माग्दै त्यसलाई नदोहराउने प्रतिवद्धता जनाउनुपर्ने बताए । अब पनि तोकिएको समयमा निर्वाचन हुन नसके देश अनिश्चिततातर्फ फर्कने उनले बताए ।



























































