सौराहा — क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सौराहामा भव्य रूपमा सुरु भएको छ। बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपाल–भारत सम्बन्ध केवल राजनीतिक वा मानवीय मात्र नभई धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा रोटी–बेटीको गहिरो सम्बन्ध रहेको उल्लेख गरे। उनले राम–सीताको ऐतिहासिक सम्बन्धदेखि लिएर परम्परागत विवाह, संस्कार र खुला सिमानासम्मका सम्बन्धले दुई देशलाई जोडेको बताए।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले विगतमा नेपाल र भारतबीच हात्ती आदान–प्रदानसमेत हुने गरेको स्मरण गर्दै हात्ती महोत्सवले भारतसहित अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न ठूलो योगदान पुराउने विश्वास व्यक्त गरे। हात्ती मानव सभ्यताको अभिन्न अंग भएको उल्लेख गर्दै उनले हात्तीको आयु करिब ८० वर्ष र मानिसको औसत आयु करिब १०० वर्ष हुने बताए।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशको जीवनशैली र आर्थिक अवस्थामा उल्लेखनीय परिवर्तन आएको महसुस भएको बताउँदै उनले लोकतन्त्रमा सबैले आफ्ना विचार खुला रूपमा राख्न पाउने अधिकार रहेको स्पष्ट पारे। साथै, मानव सभ्यतासँगै प्रकृतिको संरक्षण पनि अनिवार्य रहेको भन्दै बाघ, हात्ती लगायत वन्यजन्तुको संरक्षणमा जोड दिए। पृथ्वीको तापक्रम वृद्धिका कारण धेरै जीवजन्तु विस्थापित भइरहेको सन्दर्भमा उनले धरती जोगाउनु आजको आवश्यकता भएको उल्लेख गरे।

मुख्यमन्त्री बानियाँले सौराहालाई बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए। पर्यटकलाई सुरक्षित, सहज र आकर्षक वातावरण प्रदान गर्न प्रदेश सरकारले स्थानीय व्यवसायी, सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।

उनले पर्यटक कम्तीमा तीन दिन बस्न सक्ने वातावरण सिर्जना गर्न होटल तथा पर्यटन व्यवसायलाई राज्यले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। हात्तीलाई मित्रका रूपमा प्रस्तुत गर्दै मैत्रीपूर्ण प्रदर्शन र खेलमार्फत मानव र जनावरबीचको द्वन्द्व हटाउन सकिने धारणा व्यक्त गरे।

हात्ती पालन कठिन र खर्चिलो भएकाले यस क्षेत्रमा संलग्न व्यवसायीलाई संरक्षण गर्न प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने, सहुलियत कर्जा उपलब्ध गराउने तथा महावतहरूको जीवनस्तर सुधारका लागि पहल गर्ने मुख्यमन्त्री बानियाँले जानकारी दिए। आगामी आर्थिक वर्षमा नीति तथा बजेटमार्फत पर्यटन प्रवर्द्धनका कार्यक्रम समेटिने पनि उहाँले बताए।

कार्यक्रमको अन्त्यमा मुख्यमन्त्री बानियाँले भारत तथा अन्य देशबाट महोत्सव अवलोकन गर्न आएका पर्यटकहरूलाई हार्दिक स्वागत र सम्मान व्यक्त गरे। मानव र जनावरबीचको सहअस्तित्व नै सभ्य समाजको परिचायक भएको उनको भनाइ थियो।