काठमाडौं – भन्सार छली गरी ल्याइँदै गरेको करिब १५ लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
आज बिहान करिब ६ः१५ बजेको समयमा धनगढीबाट काठमाडौं तर्फ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा अवैध रूपमा सामान ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी बिट बाफलबाट खटिएको टोलीले नागार्जुन नगरपालिका–४ बाफलस्थित चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा बसको डिक्कीभित्र लुकाइ राखिएको २८ बोरा मोबाइलका पार्ट्सजस्तो देखिने सामान फेला परेको प्रहरीले जनाएको छ । बरामद सामानसहित बस चालक कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–६ निवासी २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
बरामद सामानमध्ये २७ बोरामा ४० हजार ५ सय पिस टेम्पर ग्लास रहेको र यसको अन्दाजी मूल्य १४ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ । त्यस्तै, १ बोरामा रहेका १०० पिस मोबाइलका पार्ट्सको मूल्य करिब ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद सम्पूर्ण सामानको जम्मा अन्दाजी मूल्य १४ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ । नियन्त्रणमा लिइएका व्यक्ति तथा सामानलाई थप अनुसन्धानपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।


























































