एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्नो क्रिकेट टोलीले २०२६ को टी–२० विश्वकप खेल्न भारत भ्रमण नगर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


बीसीबीले यस विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई इमेल पठाएको छ । बंगलादेश क्रिकेट बोर्डले बंगलादेशका सबै खेलहरू श्रीलंकामा आयोजना गर्न स्थान परिवर्तन गर्न आईसीसीलाई अपील गरेको हो। यसअघि पाकिस्तानले पहिले नै आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्नेछ। यससँगै टी–२० विश्वकपमा दक्षिण एशियाका दुई टोलीले भारत जान इन्कार गरेका छन् ।


ADVERTISEMENT

# # #


आइतबार दिउँसो बंगलादेश क्रिकेट बोर्डका १७ निर्देशकहरूको बोर्ड बैठकमा यो निर्णय गरिएको हो। बंगलादेश क्रिकेट बोर्डका निर्देशक नजमुल अबेदिन फहिमले यस विषयमा बीसीबीले पछि विस्तृत वक्तव्य जारी गर्ने बताए।

भारत र श्रीलंकाले आइसीसी टी–२० विश्वकप २०२६ को सह–आयोजना गरिरहेका छन्। प्रतियोगिता फेब्रुअरी ७ मा सुरु हुने तालिका छ। बंगलादेशको पहिलो खेल उद्घाटन दिन कोलकातामा वेस्ट इन्डिज विरुद्ध हुने तय छ ।

मुस्ताफिजुर रहमान मुद्दाबाट सुरु भएको विवाद

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बंगलादेशी फास्ट बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ बाट बहिष्कार गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो । बंगलादेशमा पछिल्लो समय हिन्दुहरुमाथि भइरहेको आक्रमण र अत्याचार तथा बंगलादेशका नागरिकले भारतमाथि गर्ने गरेको खराब आचरणलाई दिएर बीसीसीआईले कोलकाता नाइड राइडर्सलाई मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाउने निर्देशन दिएको थियो ।

मुस्ताफिजुर रहमानलाई आईपीएलबाट अलग्याएसँगै आक्रोशित बंगलादेशको अन्तरिम सरकार र खेल सल्लाहकार नियकायले बीसीबीलाई विश्वकपमा बंगालेशी टोलीको भारत भ्रमण श्रीलंकामा सार्न आईसीसीलाई पत्राचार गर्न निर्देशन दिएको थियो ।

यसअघि, बंगलादेशको अन्तरिम सरकार र खेलकुद आयोजकहरूका धेरै सल्लाहकारहरूले कथित धार्मिक र राजनीतिक दबाबका कारण मुस्ताफिजुर रहमानलाई आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट बहिष्कार गरिएकोमा कडा प्रतिक्रिया जनाएका थिए।

युवा तथा खेलकुद मामिला सल्लाहकार आसिफ नजरुलले भनेका थिए कि ‘बंगलादेशी क्रिकेटर र देशको अपमान कुनै पनि परिस्थितिमा सहन गरिने छैन।’

उनले निर्णयको कडा निन्दा गर्दै भने, ‘हामी कुनै पनि परिस्थितिमा बंगलादेशी क्रिकेट, क्रिकेटर र बंगलादेशको अपमान सहन गर्दैनौं। दासत्वका दिनहरू सकिएका छन्।’

आसिफ नजरुलले आफ्नो पोस्टमा लेखेका छन्, ‘बोर्डले यो स्पष्ट पार्नु पर्छ कि जब एक बंगलादेशी क्रिकेटर सम्झौता हुँदाहुँदै पनि भारतमा खेल्न सक्दैन, तब सम्पूर्ण बंगलादेश क्रिकेट टोलीले विश्वकप खेल्न भारत यात्रा गर्न सुरक्षित महसुस गर्न सक्दैन।’

उनले सूचना तथा प्रसारण सल्लाहकारलाई बंगलादेशमा आईपीएलको प्रसारण रोक्न पहल गर्न पनि अनुरोध गरेका छन्।

नेपालको बंगलादेशसँगको भेन्यू सर्न सक्ने

बंगलादेश क्रिकेट बोर्डको आग्रहलाई आईसीसीले स्वीकार गरेमा टी–२० विश्वकपमा नेपालको बंगलादेशसँगको खेलको भेन्यू परिवर्तन हन सक्नेछ । नेपाल र बंगलादेश टी–२० विश्वकपमा एउटै समूहमा रहेका छन् ।

समूह ‘सी’मा रहेको नेपालको समूह चरणको अन्तिम खेल बंगलादेशसँग रहेको छ । जुन फेब्रुअरी १७ मा मुम्बईको वांखेडे स्टेडियममा हुँदैछ । उक्त खेलको भेन्यू सर्न सक्ने भएको छ ।

टी–२० विश्वकपमा नेपाल र बंगलादेश तेस्रो पटक भिड्दैछन् ।