काठमाडौँ- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारजन शिक्षण अस्पताल पुग्न थालेका छन्।
आफन्तको अवस्था बुझ्न तथा फेला परेका शवमध्ये आफ्ना मान्छे भए–नभएको पहिचान गर्न परिवारजन तस्बिरसहित अस्पताल पुगिरहेका छन्। उनीहरूले अस्पताल, विमानस्थल तथा राहत शिविरलगायत विभिन्न स्थानमा खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेको बताएका छन्।
बेपत्ता व्यक्तिका आफन्तलाई आवश्यक सूचना तथा सहजीकरणका लागि नेपाल प्रहरीले अस्पतालमा डेस्क स्थापना गरेको छ। परिवारजनले बेपत्ताको खोजी र उद्धारलाई थप तीव्र बनाउन सरकार तथा सुरक्षा निकायसँग आग्रह गरेका छन्।
भोटेकोशी बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् भने विभिन्न स्थानबाट शव फेला पर्ने क्रम जारी छ। आफन्तको अवस्था थाहा नहुँदा परिवारजन भने अस्पतालदेखि प्रभावित क्षेत्रसम्म भौँतारिन बाध्य छन्।































































