काठमाडौँ – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालुले माधवनारायण भगवानलाई काभ्रेको पनौतीमा पुर्याएर विधिपूर्वक पूजाआराधना गरेका छन् ।
प्रत्येक वर्ष माघ शुक्ल चतुर्थीका दिन पनौतीमा माधवनारायणको पूजाआराधना गर्ने व्रतविधिअनुसार बिहीबार पूजा गरिएको हो ।
प्रत्येक वर्ष माघशुक्ल तृर्तीयाका दिन माधवनारायण व्रत बसेका वर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ । बुधबार दिउँसो पनौती हिँडेका वर्तालु भक्तपुर हुँदै बेलुकी काभ्रेपलाञ्चोकको पनौती पुगेका थिए ।
वर्तालुले बिहीबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि माधवनारायणलाई विशेष पूजाआराधना गरेका हुन् ।
स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर सांस्कृतिक सहर पनौती परिक्रमा गरिएको थियो । बिहानको स्नान र विधिपूर्वक पूजा, आराधना सकेपछि माघशुक्ल चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिएको थियो । भोजनपछि वर्तालु साँखुस्थित शालीनदीतिर फर्किएका छन् ।



























































