काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले सार्वजनिक बहस अस्वीकार गरेका छन् । एमाले अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्रीका उम्मेदवारहरुबीच सार्वजनिक बहस गर्नुपर्ने मागमा आफू सकारात्मक रहेको भन्दै अन्य उम्मेदवारलाई पनि बहसका लागि प्रस्ताव गरेका थिए ।


ADVERTISEMENT


ओलीले सामाजिक सञ्जालमा गरेको प्रस्तावको जवाफ उक्त पोष्टमा कमेन्टमार्फत दिँदै बालेनले जेन–जी आन्दोलनमा बालबालिकाका हत्यारा र मतियारसँग आफू एउटै मञ्चमा नउभिने बताएका हुन् । तत्कालीन प्रधानमन्त्री ओली लगायतका व्यक्तिसँग एउटै मञ्चमा उभिनु भनेको ७६ जनाको हत्यामा आफू पनि संलग्न भएको मानिने बताउँदै बालेनले ओलीको प्रस्ताव अस्वीकार गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले ओलीलाई जवाफमा भनेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट ओलीसँगै भिड्दैछन् । रास्वपाले बालेन र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै निर्वाचन होमिएका छन् । यता नेपाली काँग्र्रेसले पनि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।