– विवेक आचार्य
वर्तमान नेपाली समाजमा ‘राजनीति’ शब्द सुन्ने बित्तिकै धेरैको मानसपटलमा सत्ताको खिचातानी, पदको लुछाचुँडी र व्यक्तिगत स्वार्थको चित्र नाच्न थाल्छ। विडम्बना नै मान्नुपर्छ, जुन राजनीतिले समाजको भाग्य र भविष्य कोर्नुपर्ने हो, आज त्यही क्षेत्र निष्ठा र इमानदारीताको अनिकालबाट गुज्रिरहेको छ। सामान्य नागरिकका लागि राजनीति भनेकै ‘जसरी पनि पदमा पुग्ने र शक्ति हत्याउने खेल’ मात्र बनेको छ। के वास्तवमा राजनीति यही हो त ?
कुनै समय थियो, जब राजनीतिमा लाग्नु भनेको जेल-नेल भोग्नु, परिवार त्याग्नु र देशका लागि मर्न तयार हुनु हुन्थ्यो। त्यो समय ‘त्याग’को पर्याय थियो। तर, पछिल्ला दशकहरूमा राजनीति एउटा आकर्षक ‘पेसा’ जस्तो देखिन थालेको छ। सिद्धान्तका कुरा गर्ने तर व्यवहारमा अवसरवादलाई प्रश्रय दिने प्रवृत्तिले गर्दा निष्ठावान् कार्यकर्ताहरू किनारा लाग्दैछन् भने चतुर र धनवान्हरूको बोलवाला बढ्दै गएको छ। यसले समाजमा एउटा खतरनाक भाष्य निर्माण गरेको छ– ‘इमानदार मान्छे राजनीतिमा टिक्न सक्दैन।’
अब प्रश्न उठ्छ, के यो निराशालाई सधैँ अँगालेर बस्ने त ? पक्कै होइन। समाजलाई राजनीति भनेको ‘सेवा’ हो भनेर बुझाउन अब हामीले भाषण होइन, प्रमाण पेस गर्नुपर्ने बेला आएको छ।
१. चरित्रको राजनीतिः राजनीतिमा लागेका व्यक्तिहरूको व्यक्तिगत जीवन र सार्वजनिक व्यवहार पारदर्शी हुनुपर्छ। जब नेताले आफ्नो सुखसुविधा त्यागेर जनताको समस्या समाधानमा आफूलाई होम्छ, तब मात्र समाजले ‘त्याग’को अर्थ बुझ्छ।
२. नैतिकताको बलः पद प्राप्त गर्नु सफलता होइन, पदमा नरहेर पनि जनताको मनमा बस्न सक्नु वास्तविक राजनीतिक सफलता हो। गान्धी, मण्डेला वा नेपालकै सन्दर्भमा कृष्णप्रसाद भट्टराई जस्ता व्यक्तित्वहरूले पदका लागि कहिल्यै मरिहत्ते गरेनन्। उनीहरूको निष्ठा नै आजसम्मको प्रेरणा हो।
३. स्वार्थभन्दा माथि सेवा : राजनीतिलाई शक्ति प्रदर्शन गर्ने थलोबाट बदलेर समाधान दिने थलो बनाउनुपर्छ। शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा राजनीतिकर्मीहरूले गर्ने निःस्वार्थ पहलले नै हराएको जनविश्वास फर्काउन सक्छ।
राजनीति आफैँमा फोहोरी खेल होइन, यसलाई खेल्ने पात्र र प्रवृत्तिले धमिलो बनाएका हुन्। जबसम्म हामीले राजनीतिलाई ‘पद’बाट छुट्याएर ‘पद्धति’ र ‘निष्ठा’ सँग जोड्दैनौँ, तबसम्म समाजमा परिवर्तन सम्भव छैन। अबको पुस्ताले राजनीतिलाई सत्ता प्राप्तिको भर्याङ मात्र होइन, समाज रूपान्तरणको एउटा महान् यज्ञ बनाउनुपर्छ।
इमानदारीताको जगमा उभिएको राजनीतिले ढिलो परिणाम दिए पनि त्यो दिगो र गौरवपूर्ण हुन्छ। त्यसैले, हराएको निष्ठा र त्यागलाई पुनः समाजको मूलधारमा ल्याउनु आजको अपरिहार्यता हो।
(लेखक नेपाल विधार्थी संघका केन्द्रीय सदस्य हुन् ।)




























































