काठमाडौँ – चितवनमा एक महिलाको विभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गर्दै चितवनको रत्ननगर नगरपालिका–४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको घरभित्र विभत्स हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको हो । तामाङलाई आफ्नै घरको कोठामा हात खुट्टा र मुखमा कपडाले बाधेर हत्या गरी गरगहना नगद र मोबाईल फोन लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।
उक्त हत्यामा बारा घर भई हाल चितवन बस्ने मोटे र बिजय भन्ने शुक्र वहादुर भोलान, बारा घर भइ ललितपुर च्यासल बस्ने सुर्यमान तामाङ्ग, धादिङ्का बुद्धिमान लामा, स्याङ्जा घर भइ चितवन बस्ने मिलन भन्ने कौ बहादुर गुरूङ्ग र मकवानपुर घर भइ काठमाडौं थानकोट बस्ने हिरा बहादुर स्याङतानलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका व्यक्तिहरुबाट ना २५ प ६९६५ निलो कालो पल्सर मोटरसाईकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोवाईल बरामद गरिएको प्रहरीले जनाएको छ । केहिदिन अघि एक्लै बस्दै आएकी सुकमायाको आफ्नै घरमा विभत्स हत्या गरिएको अवस्थमा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।



























































