काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन आतुर रहेको बताएकी छन् ।


ADVERTISEMENT


सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन नेपाल राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु भएको भन्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन आतुर रहेको बताइन् । प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा लुटिएका हतियारहरूमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको धारणा राखिन् ।


ADVERTISEMENT

# # #


निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न उनले सबै पक्षसंग अपील समेत गरिन् । उनले जेनजी आन्दोलनपछि शासकीय आकांक्षा बोकेर, कुनै पदको लालसाका लागि नभइ बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउन युवा पुस्ताको आग्रहमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्पष्ट पारिन् ।

जेनजी आन्दोलनका मागहरुलाई सम्बोधन गर्ने गरी सरकार र आन्दोलनकारी प्रतिनिधिबीच मुलुकको राजनीतिक दिशा बदल्ने ऐतिहासिक सम्झौता सम्पन्न भएको उनले बताइन् । त्यसैका आधारमा सार्वजनिक निकायका कामकारवाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको प्रधानमन्त्री कार्कीले बताइन् ।

सार्वजनिक निकाय र नियमनकारी संस्थाहरुले कानुनबमोजिम गर्ने काममा कुनै प्रकारको अवाञ्छित दबाब सरकारले नदिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले पूर्णरुपमा व्यावसायिक स्वतन्त्रताका साथ राज्यका निकायहरुले काम गरिरहेको बताइन् । त्यसैगरी उनले जेनजी युवाहरुको दवावमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मन्त्रिपरिषद्मा ल्याएको र अहिले केही व्यक्तिहरु सरकार छाडेर राजनीतिमा होमिँदा त्यसलाई अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको तर्क गरिन् ।

उनले अहिले राजनीतिमा होमिएका वर्तमान सरकारका पूर्वमन्त्रीहरुसंग कुनै सम्पर्क नरहेको स्पष्ट पारिन् ।