चितवन – चितवन क्षेत्र नम्बर २ की नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेलले स्थानीयको समस्या समाधानका लागि आफू निर्वाचनमा होमिएको बताएकी छन् ।
प्रेस युनियन चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खरेलले आफुले गरिब असहाय, महिला, बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र स्थानीय समस्या सबै राम्रोसंग बुझेकाले जनताले विश्वास गर्ने समेत बताइन् ।
आफू निर्वाचित भए चितवन–२ का विकास निर्माण देखि नीति नियम र ऐन कानुनले बाधा भएका विषयहरुको उठाउने उनले बताइन् । उनले संविधानले प्रत्याभूत गरेको अधिकार नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा नागरिकको अधिकार स्थापीत गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाइन् ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाबाट रवि लामिछाने समेत चुनावी मैदानमा छन् । त्यस्तै नेकपा एमालेले अस्मिन घिमिरे र नेकपाले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा १७ राजनिति दल र ६ जना स्वातन्त्र गरी २३ जना उम्मेदवारहरु रहेका छन् ।


























































