काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक प्रक्रियालाई सही ठाँउमा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन् ।
शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा आयोजित कार्यक्रममा पोखरेलले अहिले मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिगबाट बाहिर रहेकाले त्यसलाई सही ठाँउमा ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै निर्वाचनलाई सही परिणाम दिने अवसरको रुपमा परिणत गर्नुपर्ने बताएका हुन् ।
उनले आगामी निर्वाचनमा सहभागी भएर मुलुक रुपान्तरणको अभियानमा साथ दिन समेत आह्वान गरे । देशभन्दा ठूलो कुरा अरू केही हुन नसक्ने भन्दै पोखरेलले हित विपरीत भइरहेका गतिविधिविरुद्ध देशभक्तहरु एकठाउमा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको धारणा राखे ।
अहिलेको निर्वाचन देश बनाउने र देश बिगार्नेबीचको जनमत संग्रह भएकाले देश बनाउने पक्षलाई जनताले साथ लिने उनको विश्वास छ ।
कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा मोबाईल चुनाव चिन्ह लिएर उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै पोखरेललाई समर्थन गरेको घोषणा गरेकी थिइन् ।


























































