सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सिराहा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादवसहित पाँचजना तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउने सर्तमा रिहा भएका छन् ।


ADVERTISEMENT


यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २२ गते भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईका अनुसार प्रहरीले बरामद गरी बुझाएको नगद तथा कागजात अध्ययनपछि लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरिएको हो । “मौन अवधिमा यति ठूलो रकम किन, कहाँबाट र के प्रयोजनका लागि बोकेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ,” उनले भने, “स्पष्टीकरण प्राप्त भएपछि थप निर्णय गरिनेछ । आवश्यकता परे निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐनबमोजिम कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अघि बढाउनेछ ।”


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकले आयोगले स्पष्टीकरण सोधिसकेको सन्दर्भमा तत्काल प्रहरीले थप कारबाही नगर्ने तर आयोगको निर्णयपछि अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए । यादवसँगै पक्राउ परेका विष्णुपुर–५, लक्ष्मीपुरका श्यामकुमार यादव, रामप्रवेश यादव, बप्रेन्द्रकुमार यादव र नरहा गाउँपालिका–३ का सवारीचालक जीतेन्द्रकुमार महतो पनि रिहा भएका छन् ।

मङ्गलबार राति उम्मेदवार यावदसहित पाँच जनालाई निर्वाचन सुरक्षा गस्तीमा रहेका प्रहरीले नेपाल–भारत सीमामा पर्ने माडर बजारबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको अवस्थामा माडरदेखि उत्तर शिवचोकमा प्र २–०२–००१ च ०८७ नम्बरको स्कर्पियोबाट रु चार लाख ८७ हजार नगदसहित पक्राउ गरेको थियो ।

निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन, २०७३ को दफा ३० अनुसार निषेधित कार्यका लागि आर्थिक सहयोग लिन वा खर्च गर्न नहुने व्यवस्था छ । उल्लङ्घन भए आम्दानी वा खर्च बराबरको जरिवाना गर्न सकिने र सो जरिवाना ६ महिनासम्म नबुझाए आयोगले बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने प्रावधान रहेको छ ।