काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् ।
आइतबार सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै उनले अब उप्रान्त निर्वाचनमा उम्मेदवार नबन्ने र पदको राजनीतिमा नरहने स्पष्ट पारेका हुन् । उनले राजनीतिबाट हराउनु नभई जनताको अधिकार र पहिचानका लागि सडक र सदन बाहिरबाट निरन्तर संघर्ष गरिरहने बताएका छन्।
आफू पद र सत्ताको मोहमा फस्नुभन्दा अगाडि नै यो निर्णय लिएको भन्दै राउतले आगामी दिनमा जनमत पार्टीलाई स्थानीय र प्रदेश निर्वाचनको तयारी गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व प्रदान गर्ने तर व्यक्तिगत रूपमा कुनै पनि राजकीय पदको दौडमा नरहने उनको भनाइ छ। उनले भनेका छन्, ‘म सधैँ तपाईंहरूको बिचमा रहनेछु, हरेक मोर्चा र सङ्घर्षमा तपाईंहरूसँगै खडा हुनेछु,’।
डा. राउतले आफ्ना विगतका दुई वटा संसदीय निर्वाचनका अनुभवहरू साझा गर्दै दुवै पटक व्यक्तिगत इच्छा विपरीत पार्टी र कार्यकर्ताको दबाबमा चुनाव लड्नु परेको खुलासा गरेका छन् ।
२०७९ सालको निर्वाचनमा आफू नलड्दा पार्टी राष्ट्रिय पार्टी नबन्ने खतरा देखिएपछि साथीहरूको सल्लाहमा निर्वाचन लडेको र त्यसले सकारात्मक परिणाम दिएको उनले स्मरण गरे ।
हालैको निर्वाचनमा पनि उम्मेदवार र कार्यकर्ताको मनोबल गिर्न नदिन अन्तिम समयमा मनोनयन दर्ता गरेको तर नतिजा आफ्नो पक्षमा नआए पनि उक्त निर्णयप्रति आफू सन्तुष्ट रहेको उनले बताएका छन्।



























































