काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गरी पदमुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको प्रेस विज्ञप्तिमा लुम्बिनी प्रदेशसभा सचिवालयबाट जारी सूचना तथा त्यसको आधार बनेका कागजातमाथि प्रश्न उठाउँदै निर्णय तत्काल सच्याउन माग गरिएको छ।
जसपा नेपालका अनुसार काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गर्ने निर्णय किर्ते कागजातका आधारमा गरिएको गैरकानुनी, असंवैधानिक तथा संसदीय अभ्यासको मर्मविपरीत रहेको दाबी गरिएको छ। पार्टीले उक्त निर्णय तत्काल सच्चाउन लुम्बिनी प्रदेशसभा सचिवालयसँग माग गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने क्रममा पार्टीले विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको भए पनि केही प्रदेशसभा सदस्यले सरकारको पक्षमा मतदान गरेका थिए। सो विषयमा स्पष्टीकरण मागिएपछि सन्तोषकुमार पाण्डेय, आदेशकुमार अग्रवाल, भण्डारीलाल अहिर र हेमा बेल्बासेसहितका नेतामाथि पार्टीले कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिमा पार्टीका सह–महासचिव अजय झाको हस्ताक्षर रहेको भनिएको पत्रलाई समेत नक्कली दाबी गरिएको छ। उक्त पत्रमा प्रयोग गरिएको लेटरहेड तथा छापसमेत नक्कली रहेको जसपा नेपालको भनाइ छ।
पार्टीले घटनाको निष्पक्ष छानबिन गर्न, नक्कली कागजात तयार तथा प्रयोग गर्ने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराउँदै गैरकानुनी निर्णयविरुद्ध आवश्यक न्यायिक तथा कानुनी उपचारको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
यसैबीच, लुम्बिनी प्रदेशसभा सचिवालयले भने पार्टीको सिफारिसका आधारमा अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरेको जनाएको छ।

































































