काठमाडौं – संघीय निजामती कर्मचारीको सरुवा र बढुवासम्बन्धी विवरण अब कर्मचारी व्यक्तिगत विवरण प्रणाली (पीआईएस) मा स्वचालित रूपमा अद्यावधिक हुने भएको छ। यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखानाबीच प्रत्यक्ष सूचना आदानप्रदान गर्ने सहमति भएको छ।


ADVERTISEMENT


मन्त्रालयका सचिव चन्द्रकला पौडेलको उपस्थितिमा राष्ट्रिय किताबखाना र मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबीच वास्तविक समयमै सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाउने समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। उक्त समझदारीपत्रमा मन्त्रालयका तर्फबाट सहसचिव पार्वती शर्मा र राष्ट्रिय किताबखानाका तर्फबाट महानिर्देशक श्रवणकुमार पोखरेलले हस्ताक्षर गरेका छन्।


ADVERTISEMENT

# # #


समझदारीअनुसार कर्मचारी सरुवा, बढुवा तथा अन्य प्रशासनिक निर्णयसँग सम्बन्धित विवरण अब प्रविधिमार्फत प्रत्यक्ष रूपमा पीआईएस प्रणालीमा अद्यावधिक हुने व्यवस्था गरिनेछ। यसका लागि अनुप्रयोग कार्यक्रम अन्तरसम्पर्क प्रणाली (एपीआई) विकास गरी दुवै निकायबीच सूचना साझेदारी गरिनेछ।

यस व्यवस्थाअनुसार राष्ट्रिय किताबखानाले पीआईएस प्रणालीको वास्तविक समयको विवरण मन्त्रालयलाई उपलब्ध गराउनेछ भने मन्त्रालयबाट भएका निर्णयहरू स्वतः पीआईएस प्रणालीमा अद्यावधिक हुनेछन्। यसले कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई थप छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार दुवै निकायका प्राविधिक टोलीले संयुक्त रूपमा विकास गरिरहेको कर्मचारी व्यवस्थापन प्रणाली प्रयोग गर्ने बाटो पनि यस सहमतिले खुला गरेको छ।

यस कदमले संघीय निजामती प्रशासनमा सूचना प्रविधिको प्रयोग बढाउँदै कर्मचारी व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।