काठमाडौं – भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
जेनजी मुभमेन्ट एलाइनस, नेपाल जेनजी फ्रन्ट, जेनजी सिभिज फोरम लगाएतका युवाहरुको समूहले कार्की आयोगको पुरा प्रतिवेदन खोइ ? भन्दै सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
आँखामा पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका युवाहरुले जेनजी सहीद र घाइतेहरुलाई न्याय दिनुपर्ने भन्दै प्लेकार्ड प्रदर्शन गरेको थिए । साथै उनीहरुले वर्तमान सरकारले आफ्ना निकटलाई नियुक्ती दिने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।
युवाहरुले आफुहरु भाग खोज्नका लागि नभइ मुलुकको परिवर्तनका लागि आन्दोलनमा होमिएकाले युवासंग सरकारले गरेको सहमति कार्यान्वयनको समेत माग गरेका छन् ।
त्यसैगरि युवाहरुले यसअघि बनेका बिभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन नभएजस्तै कार्की आयोगको प्रतिवेदन पनि कार्यान्वयन नहुने हो की भन्ने आशंका समेत व्यक्त गरेका छन् ।































































