काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी भाद्रमा पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कार्यतालिकासहित भाद्र २४, २५ र २६ गते पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । सभापति थापाले प्रस्तुत गरेको कार्यतालिकामा वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने, असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने र असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने उल्लेख छ ।
त्यस्तै साउन ६ गतेबाट गाउँ, नगर वडा अधिवेशन हुँदै प्रदेश, प्रतिनिधिसभा क्षेत्र, जिल्ला हुँदै भदौ १५ र १६ गते प्रदेश अधिवेशन गर्ने सभापति थापाको प्रस्ताव रहेको छ । उनले एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भएको उल्लेख गर्दै पूर्वाग्रहको रुपमा नहेरि सबैलाई सहभागी गराएर महाधिवेशनमा केन्द्रीत हुने उल्लेख गरे ।
त्यसैगरी सभापति थापाले प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर राजीनामा दिएको भन्दै राजीनामा दिने निर्णय कुनै हतार र हतासको नभएको जिकिर गरे । आफूले निर्वाचन लगत्तै राजीनामा दिन चाहे पनि केही प्राविधिक कारणले आफू रोकिएको उनको भनाइ छ ।
सभापति थापाले निर्वाचनमा टिकट नपाएका नेताहरुले पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै असन्तोष जनाए । उनले निर्वाचनको परिणाम अनुसार सुविधाजनक ढंगबाट ५ वर्षको निम्ति सरकार सञ्चालन गर्ने म्यान्डेट प्राप्त भएको प्रति रास्वपालाई बधाई दिदै संविधानको मर्म र भावना र विद्रोहको मर्म अनुसार सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्ने शुभेच्छा समेत प्रकट गरे ।
उनले राम्रा काममा समर्थन र गलत काममा प्रश्न गर्ने रचनात्मक भूमिका निर्वाह गर्ने बताए । त्यस्तै सभापति थापाले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गर्न नहुने बताए ।


























































