काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बागमती प्रदेश सरकार गठनको विषयमा विवाद चुलिएको छ। पार्टी केन्द्रले सत्ता राजनीतिमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरे पनि बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका छन्।
केन्द्रको निर्णयविपरीत प्रदेश संसदीय दलले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपा नेतृत्वले भने उक्त समर्थनप्रति आपत्ति जनाएको छ। राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेश प्रमुखलाई पत्र पठाउँदै किरण थापालाई समर्थन गरिएको पत्रमा पार्टीको सहमति नरहेको स्पष्ट पारेका छन्।
राप्रपाले गत साउन २० गते बसेको कार्यसम्पादन समिति बैठकबाट वर्तमान अवस्थामा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सहभागी नहुने निर्णय गरेको जनाएको छ। प्रदेश सरकारका विषयमा निर्णय गर्नुपरे अध्यक्षलाई जिम्मेवारी दिइएको र भदौ १ गते संसदीय दलका नेतालाई अर्को निर्देशन नआएसम्म मतदान तथा समर्थन प्रक्रियामा तटस्थ बस्न निर्देशन दिइएको थियो।
तर, प्रदेश संसदीय दलका नेता उद्धव थापाले भने प्रदेशको विषम राजनीतिक परिस्थितिलाई निकास दिन आफूहरूले एमाले नेतृत्वलाई समर्थन गरेको बताएका छन्। बागमती सरकार गठनको विषयमा पार्टी केन्द्रसँग समन्वय भइरहेको दाबी गर्दै उनले राप्रपा सत्ताका लागि मरिहत्ते गर्ने पार्टी नभएको पनि बताएका छन्।
केन्द्रले भने पार्टीको निर्णय र निर्देशनविपरीत बुझाइएको समर्थन पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेको छ। यसले बागमतीमा मात्रै होइन, राप्रपाभित्रै केन्द्रको निर्णय र प्रदेश संसदीय दलको कदमबीच टकराव देखिएको छ।





























































