काठमाडौं- बारा जिल्लाको सिमरामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको कमजोरी देखिएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले तीन वर्षीया अबोध बालिकामाथि बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी पाएपछि २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट खोजी तथा कारबाही अघि नबढाइएको बताएका छन्।
उनले घटना दर्ता भएदेखि प्रहरीले गरेका हरेक कदमको स्पष्ट ‘एक्सन लग’ सार्वजनिक गर्नुपर्ने र अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि समेत कारबाही हुनुपर्ने माग गरे।
सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालय गम्भीर भएर तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।
अन्य सांसदहरूले पनि घटनाका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै निष्पक्ष अनुसन्धान र कडा कानुनी कारबाहीको माग गरेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जितपुरसिमरा–१ दशधुरीकी तीन वर्षीया बालिका मनमती चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





























































