काठमाडौँ – नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउने बताएका छन् ।
बिहीबार सपथ कार्यक्रममा सहभागी हुन सिंहदरबारमा पुगेका नेम्वाङले यसअघि जस्तै नयाँ संसदमा पनि प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउने बताएका हुन् ।
उहाले आफुहरु सत्तापक्ष–प्रतिपक्ष भन्दा पनि देश र जनताको हितको लागि काम गर्न जनताले पठाइकाले इमान्दार र निष्ठापूर्वक कार्य गर्ने धारणा राखे । उनले भने, ‘जनताले सत्तापक्ष वा प्रतिपक्ष भन्दा पनि देश र जनताको हितमा काम गर भनेर पठाएका हुन्छ । त्यसकारण हामीले इमान्दार र निष्ठापूवर्क जनताका आवाजलाई जहिले पनि सदन र समितिमा उठाउने छौँ ।’
त्यस्तै नेम्वाङले दलको नेता चयनका बारे पार्टीमा छलफल नभएपनि आफुलाई प्रस्ताव गरे खुट्टा नकमाउने बताए । ‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो । त्यसकारण पार्टीमा यसबारे छलफल भइसकेको छैन ।’ उनले भने, ‘पार्टीले कुनै न कुनै हिसाबले ल लगाडि बढ भन्यो भने म खुट्टा कमाउँदिनँ ।’
उनले आफुप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन नदिने समेत बताए ।


























































