काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आफू केही सन्तुष्टि र धेरै आशा बोकेर विदा हुन लागेको बताएकी छन् । बिहीबार देशवासीका नाममा विदाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जटिल पस्थितिकाबीच वातावरण सहज बनाउँदै तोकिएको ६ महिनाभित्रै सरकारले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेको बताइन् ।
त्यसका लागि आफू सन्तुष्ट रहेको उल्लेख गरिन् । साथै उनले जननिर्वाचित नयाँ सरकारले युवा पुस्ताका आशा र सपनालाई साकार पार्न क्रियाशील हुने अपेक्षा व्यक्त गरिन् । ‘परिवर्तनकामी युवा पुस्ताको आग्रहमा ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैँले यो भूमिका स्वीकार गरेकी थएँ ।’ उनले भनिन्, ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर विदा माग्दैछु ।’
उनले यो संविधानमा भएको प्रावधानका कारण कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई निर्वाचनको परिणामले गलत साबित गरिदिएको उनले बताइन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई ज्ञापन गर्दै उनले अब बन्ने सरकारले नतिजामुखी काम गर्ने विश्वास व्यक्त गरिन् । ‘युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेन–जी आन्दोलनको माग र आकांक्षा बमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएको छु ।’
६ महिने चुनावी सरकारले जेन–जी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था नभए पनि आफ्नो सकारले केही आधारशीला अवश्य गरेको उनले बताइन् । साथै उनले कमजोर मनोबलका बीच निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद समेत दिइन् ।


























































