काठमाडौं — काठमाडौंका विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीलाई सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै दुःख हैरानी दिने तथा सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने कार्यमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिँदा नगद १ लाख २२ हजार र ५३ थान बिलबुक बरामद गरेको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरी वृत्त स्वयम्भूले सानोभर्याङस्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछाप उमाकुण्ड–४ का ३९ वर्षीय विज्ञान राई, तारकेश्वर–९ का ३१ वर्षीय संजय राजवाहक, नागार्जुन–१ रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी–७ का ३५ वर्षीय रमेश कार्की, कैलाली टिकापुर–९ का ६० वर्षीय सुमनप्रसाद श्रेष्ठ, नुवाकोट बेलकोटगढी–१२ का ३९ वर्षीय उद्धव खनाल र धादिङ निलकण्ठ–५ की ३६ वर्षीया कल्पना लम्साल रहेका छन्।
यस्तै, प्रहरी वृत्त थानकोटले गुर्जुधारास्थित यातायात कार्यालयबाट थप ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रे तेमाल–८ का ३० वर्षीय शुनिल लामा, चन्द्रागिरी–६ का २३ वर्षीय सुदीप मगर, धादिङ थाक्रे–४ का २० वर्षीय बुद्ध तामाङ, मकवानपुर थाहा–९ का २६ वर्षीय सुमेश नेपाली, धादिङ थाक्रे–४ का २४ वर्षीय अमन तामाङ, बझाङ तलकोट–४ का १८ वर्षीय उज्वल सिंह र मोरङ केराबारी–५ का २६ वर्षीय दिलिप राई रहेका छन्।
प्रहरीले सेवाग्राहीलाई यस्ता अवैध व्यक्तिहरूबाट सचेत रहन तथा सरकारी सेवा लिन सम्बन्धित कार्यालयकै आधिकारिक प्रक्रियामार्फत मात्र काम गर्न आग्रह गरेको छ।



























































