काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले रास्वपालाई दिएको दुई तिहाईको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन् ।


ADVERTISEMENT


गत फागुन २१ गते भएको निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै लामिछानेले रास्वपाका हरेक सांसदले बोलेर होइन कामबाटै जवाफ दिने बताएका हुन् । ‘हामीलाई जनताले दिएको मतादेश सिंहदरबार चलाउन दिएको होइन, सिंहदरबार बदल्न दिएको हो ।’ उनले भने, ‘म गर्वका साथ भन्छु, हामीले बदल्न सुरु गरिसकेका छौँ । अब सरकारका कामहरु बोल्न सुरु गरिसकेको कुरा म निवेदन गर्न चाहन्छु ।’


ADVERTISEMENT

# # #


उनले आफूहरुलाई हनिमून पिरियड (सरकार गठनका सय दिनको समयावधि) पनि नचाहिने र आफूहरुले दिन होइन, सेकेण्ड गनेर काम गर्न चाहने र सुरु गरिसकेको बताए । उनले अब कर्मचारीतन्त्रले समेत सरकारको गतिसँगै काम गर्न तयार रहनुपर्ने बताए ।

साथै उनले विपक्षी दलका जायज चुनावी वाचाको समेत स्वामित्व लिन तयार रहेको बताए । साथै उनले सरकार र रास्वपाका गतिविधिमाथि निरन्तर निगरानी गरिदिन प्रतिपक्षी दललाई समेत आग्रह गरे । उनले भने, ‘निगरानी गरिदिनुहोला, बाटो देखाईदिनुहोला, यदि हामीले बाटो बिरायौँ भने सच्याइदिनुहोला । हामीमाथि अहंका नछाओस्, हाम्रा निर्णयहरु एकतर्फी नहुन् ।’ उनले लोकतन्त्तमा सत्तापक्ष र प्रतिपक्षी प्रतिस्पर्धी मात्रै होइनन्, एकअर्काका पूरक पनि भएकाले आफूहरुले प्रतिपक्षीको आवाज कमजोर हुन नदिने समेत बताए ।

साथै उनले प्रश्न सोध्न मात्रै होइन, जवाफ दिन पनि आउने कुरा रास्वपाले प्रमाणित गर्नुपर्ने बेला आएको समेत बताए । उनले संसदलाई प्रतिशोध नभई बहसको थलोको रुपमा विकास गरिने र कसैमाथि अन्याय हुन नदिने बताए ।

उनले भने, ‘प्रतिपक्षीमाथि त्यो अन्याय र अहंकार अब दोहोरिने छैन । आस्थाका आधारमा अब फरक व्यवहार हुने छैन । अब अन्यायपूर्वक विधि नै मिचेर आफूलाई सुन्न मन नलागेको कुरा अरुले पनि नसुनुन् भनेर कसैको माइक काटिने छैन ।’ उनले संसदीय समितिमा संख्याकै भरमा प्रतिशोध र अत्याचार नहुने तर सुशासन र वेग नरोकिने जिकिर गरे ।

साथै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको र त्यसलाई प्रतिशोध भन्न नपाइने उनले बताए । सरकार जेन–जी आन्दोलनको सन्तान भएकाले हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्त लिएकाहरुले स्वेच्छिक रुपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गर्न समेत उनले अपिल गरे ।