ललितपुर – जिल्लाको महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित ग्रीन सिटी भिल्लामा अपार्टमेन्ट भाडामा लिएर कौडा तथा जुवातास खेल्ने तथा खेलाउने २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले विशेष सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले चैत १८ गते बेलुका करिब ८ः १५ बजे छापा मार्दा अपार्टमेन्ट भाडामा लिएर कौडा तथा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।
प्रहरी उपरीक्षक मिश्रका अनुसार सिन्धुपाल्चोकका ३२ वर्षीय दिपक बोहोराले सञ्चालन गरेको उक्त भवनको दोस्रो तलामा मोहनकृष्ण शाहीले अपार्टमेन्ट भाडामा लिई जुवा खेलाइरहेका थिए।
कारबाहीका क्रममा प्रहरीले नगद ९ लाख ७ हजार ९ सय ७५, ३९ बुक तास र १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























































