काठमाडौँ – नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा झुटा प्रचारबाजी गरिएको दाबी गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै देउवाले आफू र आफ्नो परिवारको बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट जानकारी पाएको बताउँदै उक्त आरोप भ्रामक र झुटा प्रचारबाजी भएको जिकिर गरेका हुन् ।
उनले भनेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।’
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यथित गरेको समेत उनले स्मरण गराएका छन् ।
आफ्नो जीवन खुला किताबको रुपमा रहेको बताउँदै देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफ्नै पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन समेत बनेको बताएका छन् ।
उनले वास्तविकता समयक्रमसँगै खुल्दै जाने भएकाले अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न समेत आग्रह गरेका छन् । देउवाले आफूहरु स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचारको क्रम अझैँ जारी रहेको समेत उल्लेख गरेका छन् ।
गत भदौ २३–२४ गते भएको जेन–जी आन्दोलनमा बुढानीलकण्ठस्थित देउवा निवासमा ठूलो मात्रामा जलेका नोट भेटिएका थिए । सोही मुद्दामा सरकारले देउवा दम्पत्तिमागि सम्पति शुद्धीकरण गरेको अभियोगमा अनुसन्धान अघि बढाएको छ ।
आज मात्रै देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।


























































