काठमाडौं – नेपाल टेलिकम ले २०८२ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरूका लागि विशेष “एसईई अफर २०८२” सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार उक्त अफर चैत २६, २०८२ देखि सुरु भई असार २६, २०८३ सम्म उपलब्ध रहनेछ। यस योजनाअन्तर्गत विद्यार्थीहरूले नयाँ सिमकार्ड मात्र २० रुपैयाँमा देशभर रहेका नेपाल टेलिकमका कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। साथै, पहिलेदेखि नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले पनि सोही नम्बरमा अफर लिन सक्ने व्यवस्था गरिएको छ।
नयाँ सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न सुविधा उपलब्ध हुनेछन्। सिममा प्रारम्भिक रूपमा ९ रुपैयाँ ८० पैसा मेन ब्यालेन्स दिइनेछ, जसबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस तथा डाटा प्रयोग गर्न सकिनेछ।
एसईई प्याकेजअन्तर्गत ३० दिनसम्म दैनिक २० मिनेट अन-नेट भ्वाइस, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा उपलब्ध हुनेछ। यस्ता दैनिक सुविधा सोही दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।
यसैगरी, ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा बोनस स्वरूप ५०० एमबी डाटा, ५० मिनेट अन-नेट कल र ५० वटा एसएमएस पाइनेछ। रिचार्ज बोनस भने प्राप्त भएको तीन दिनभित्र प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।
नयाँ सिम लिनका लागि परीक्षार्थीहरूले एसईई प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको प्रतिलिपि, फोटो तथा आफ्नो वा अभिभावकको नागरिकता वा अन्य सरकारी परिचयपत्र संलग्न गरी आवेदन दिनुपर्नेछ। सिम सक्रिय गर्न र अफर लिन कम्पनीले तोकेका डायल कोड प्रयोग गर्नुपर्नेछ।
गत वर्ष पनि यस्तै योजना ल्याएको कम्पनीले विद्यार्थीहरूको आकर्षणलाई ध्यानमा राख्दै यसलाई निरन्तरता दिएको जनाएको छ। कम्पनीले यस अफरबाट विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरेको छ।


























































