एजेन्सी –  अमेरिकाको मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स बन्न सतीश चापागाई प्रतिस्पर्धामा उत्रिएका छन् ।


ADVERTISEMENT


सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै आएका चापागाईं मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ (ए) बाट हाउस अफ डेलिगेट्सका लागि चुनावी दौडमा रहेका छन् ।


ADVERTISEMENT

# # #


हाउस अफ डेलिगेट्स चयनका लागि मेरिल्यान्डमा आगामी नोभेम्बरमा हुने चुनावी प्रतिस्पर्धामा उनी डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न प्राइमरी इलेक्सन (उम्मेदवार छनोटका लागि पार्टीभित्र हुने निर्वाचन)मा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

नोभेम्बरमा हुने हाउस अफ डेलिगेट्स निर्वाचनका लागि डेमोक्रेटिक पार्टीमा प्राइमरी इलेक्सन आगामी जुन २३ मा हुनेछ ।

अमेरिकामा प्रत्येक तहको जनप्रतिनिधि उम्मेदवार बन्न पहिलो चरणमा आफ्नो पार्टीभित्र प्राइमरी इलेक्सनमा निर्वाचित भएपछि मात्र सोही पार्टीबाट चुनावी प्रतिस्पर्धामा भाग लिन पाउने प्रावधान छ ।

हाउस अफ डेलिगेट्स उम्मेदवार बन्ने होडमा डेमोक्रेटिकको प्राइमरी इलेक्सनमा सतीशसँगै चार जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् । चारमध्ये प्राइमरी इलेक्सनमा बढी मत ल्याउने दुई जना उम्मेदवारका लागि डेमोक्रेटिकबाट छनोट हुनेछन् । हालसम्म सतीशसँगै लिडिया ब्राउन, चम बेकर र क्लिभलेन्ड रेनोल्ड जुनियर चुनावी प्रतिस्पर्धामा उत्रिने पक्का भइसकेको छ ।

पत्रकारिता क्षेत्रबाट आफ्नो करिअर सुरू गरेका सतीश नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारको भूमिकामा समेत छन् । नेपालमा पाल्पा घर भएका उनी विगत चार वर्षदेखि डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यका रुपमा आबद्ध छन् ।