काठमाडौँ – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको हित र विधानविपरितका क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेपछि बोल्दै थापाले सीमा भन्दा बाहिरका क्रियाकलाप अब नसहने बताएका हुन् ।
काँग्रेसका पूर्वउपसभापति पूर्ण बहादुर खड्काले विशेष महाधिवेशनको नेतृत्वलाई अस्वीकार गर्दै आफूलाई कार्यवाहक सभापतिका रुपमा विज्ञप्ती निकाल्दै आएका छन् । सोही क्रियाकलापप्रति लक्षित गर्दै गगनले पार्टीको विधानभन्दा बाहिर गएर पार्टीको अनुशासनभन्दा बाहिर गएर गर्ने कुरालाई संस्थाले स्वीकार गर्न नसक्ने बताए । सभापति थापाले पार्टी भित्र अनावश्यक विवाद ननिकाल्न आग्रह गर्दै सबैलाई मिलाएर लैजाने प्रतिवद्धता समेत जनाए ।
‘म सबैलाई समेटेर लिएर जान्छु । तर, मेरो समेटेर लैजाने मेरो जिम्मेवारीका क्रममा मैँले राख्ने लचकता र विनम्रतालाई मेरो कमजोरी नठानिदिनुहोला ।’ उनले भने, ‘म पनि पार्टीको विधान र अनुशासनले बाँधिएको छु । पार्टीको विधान र अनुशासनभन्दा बाहिर गएर गर्ने कुरालाई पार्टीले स्वीकार गर्न सक्दैन । सीमा भन्दा बाहिर गएर गर्ने कुरालाई सहने कुरा हुँदैन ।’
त्यस्तै सभापति थापाले नयाँ सरकारले गर्न खोजेका विधिसम्मत कामहरूमा सम्पूर्ण रूपमा पार्टीको साथ र सहयोग रहने धारणा राखे । पार्टीलाई थप परिस्कृत र मजबुत बनाउने काममा आफू लाग्ने बताउँदै उनले सकभर सहयोग गर्न नभए आफूलाई डिस्टर्ब नगर्न आग्रह गरे ।
अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न कांग्रेसले आग्रह गरेको छ । पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेसले जनाएको छ ।


























































