काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी चयन भएका छन् ।
सिंहदरवारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रतिनिधिसभा संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यस्तै बैठकले सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिने निर्णय गरिएको रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । साथै बैठकले पार्टीका सांसद र मन्त्रीहरुका लागि लेबी तोक्ने प्रस्ताव पारित गरेको छ ।
जस अनुसार सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोकिएको छ । त्यस्तै मन्त्रीका स्वकीय सचिवहरुका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको बुर्लाकोटीले जानकारी दिए । संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको बुर्लाकोटीले उल्लेख गरे । बैठकले लेखा समिति बाहेक अन्य ११ वटा संसदीय समितिका सभापतिहरुको नाम पनि टुङ्गो लगाएको उनले जानकारी दिए ।
संसदीय समितिको सभापति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ ।


























































