काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए । समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि खड्काले देशमा आर्थिक अनुशासनको अनुभूति हुने गरी काम गर्ने बताए ।
उनले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको धारणा राखे । नवनिर्वाचित सभापति खड्काले अख्तियार, सतर्कता केन्द्र र लेखा समितिलाई देखाएर ढिलासुस्ती गर्ने प्रवृति अव दोहरिन नदिने स्पष्ट पारे ।
उनले समितिको कार्यक्षेत्रभित्र पर्ने कामहरुलाई प्रभावकारी बनाउन सवै दलका सागै विज्ञहरुसंग पनि रायसल्लाह लिएर अघि बढ्ने धारणा राखे ।


























































