काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ले पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षबीच देखिएको विवाद अब अन्त्य भइसकेको बताएका छन्। उनले सम्मानित सर्वोच्च अदालतले उक्त विषयमा अन्तिम निर्णय दिइसकेको उल्लेख गर्दै अब पार्टीभित्रको ध्यान एकता र महाधिवेशनको सफल आयोजनातर्फ केन्द्रित हुनुपर्ने बताएका हुन्।
सभापति बानियाँले पछिल्लो समय कांग्रेसभित्र देखिएको मतभेदलाई स्वाभाविक राजनीतिक प्रक्रिया भन्दै त्यसलाई लम्ब्याउनु उपयुक्त नहुने स्पष्ट पारे। “अब विवादको अध्याय बन्द भइसकेको छ, सबै साथीहरू एकताबद्ध भएर पार्टीलाई अगाडि बढाउनुपर्ने समय आएको छ,” उनले भने।
उनले पार्टीका सबै तह र तप्काका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाहरूलाई एकतामा जोडिन आह्वान गर्दै १५औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन साझा प्रयास आवश्यक रहेको बताए। उनका अनुसार महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर पनि हो।
बानियाँले आन्तरिक एकता र संगठन सुदृढीकरणलाई अहिलेको प्रमुख आवश्यकता औँल्याउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्यमा केन्द्रित हुन आग्रह गरे। “पार्टीप्रति आस्था राख्ने सबैले जिम्मेवारीबोधका साथ अघि बढे मात्रै कांग्रेस थप सशक्त बन्न सक्छ,” उनले उल्लेख गरे।
उनले सर्वोच्च अदालतको निर्णयपछि अब कुनै प्रकारको अन्योल नरहेको स्पष्ट पार्दै महाधिवेशनको तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिए। साथै, पार्टीलाई जनताको विश्वास जित्ने गरी अघि बढाउन नीतिगत स्पष्टता र संगठनात्मक एकता अपरिहार्य रहेको उनको भनाइ छ।























































