काठमाडौँ – टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग ६ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार वर्षाले अवरुद्ध हुँदा १० ओभरमा झारिएको खेलमा युएईलाई जितका लागि ७८ रन चाहिएको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको युएईले ७ बल बाँकी छँदै जित हात पारेको हो ।
युएईको जितका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । उनले १५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै अलिशान सराफुले १८ तथा अक्षदीप नाथले १७ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । सोक्रममा उनले २ ओभरमा ८ रन मात्रै खर्चिए । यस्तै कुशल मल्लका नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८।५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित भएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ९ बलमा १६ रन बनाउँदा अर्जुन साउदले ११ बलमा १३ रन जोडे । सन्दीप जोराले ६ रनमै आफ्नो विकेट गुमाए । मध्यक्रममा कुशल मल्लले १७ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा अविजित ३२ रनको महत्वपूर्ण इनिङ्स खेले ।
त्यस्तै बासिर अहमदले १४ रन योगदान गरे भने अन्त्यतिर नन्दन यादवले ७ बलमा २ छक्का सहित १३ रन जोड्दै टोलीलाई १२२ रनसम्म पु¥याए । युएईका तर्फबाट मोहम्मद जुहैबले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । जुनैद सिद्दिकीले २ विकेट लिए भने हैदर अली र मोहम्मद अरफानले समान १–१ विकेट लिए ।
दुई टोलीबीच भोलि सिरिजको अन्तिम खेल हुनेछ । त्यसपछि आईसीसी ओडीआई लिग–२ सुरु हुनेछ ।


























































