काठमाडौं – शहरी विकास तथा भवन निर्माण विभागले सिंहदरवारमा निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बिभागका विशेष भवन निर्माण आयोजनाका प्रमुख रोशन श्रेष्ठले नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नेगरि पछिल्लो समय तीव्रताका साथ काम भइरहेको बिभागले जनाएको छ । आयोजना प्रमुख श्रेष्ठले नयाँ संसद भवनको निर्माणमा सिभिल तर्फ ९३ दशमलव ५ प्रतिशत र बित्तिय प्रगति ८४ प्रतिशत रहेको बताए ।
त्यस्तै आन्तरिक सजावटतर्फको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत रहेको उहाले जानकारी दिए । उनले आन्तरिक सजावटतर्फ यसअघि तयार गरिएको डिजाईनलाई परिमार्जन गर्नुपरेकाले केहि ढिलाई भएको बताए ।
नयाँ बनिरहेको हलबाटै नयाँ प्रतिनिधिसभा बैठक सञ्चालन गर्न सक्नेगरि मंसिरदेखि तीव्रताका साथ काम गरेपनि आन्तरिक सजावट लगाएतका काम निकै जटिल देखिएकाले समयमा नै सम्पन्न गर्न नसकिएको श्रेष्ठले बताए ।
उनले निर्माण व्यवसायीलाई कडा निर्देशन दिएर नयाँ संसद भवनको निर्माणको कार्य भइरहेको उल्लेख गरे । बैठकमा समिति सदस्यहरुले पटक पटक म्याद थप गर्दा समेत नयाँ संसद भवनको काममा ढिलाई भएकोप्रति असन्तुष्टि जनाएका थिए । साथै बैठकमा सिंहदरबारमा पुननिर्माण भइरहेको ग्यालरी बैठक भवनका बिषयमा समेत छलफल भएको थियो ।


























































