काठमाडौं, २० वैशाख २०८३ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कागेश्वरी मनोहरा नगर अस्पतालको निरीक्षण गर्दै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको पहिलो दायित्व भएको बताएका छन्।
आइतबार गरिएको निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले अस्पतालले दैनिक, मासिक र वार्षिक रूपमा प्रदान गरिरहेको स्वास्थ्य सेवाको गुणस्तर महत्वपूर्ण हुने उल्लेख गरे। उनले अस्पतालबाट प्रदान भइरहेको सेवा सन्तोषजनक रहेको भन्दै प्रशंसा समेत व्यक्त गरे।
“यहाँहरूले जनरल फिजिसियनदेखि ओपिडी सेवा, इएनटी सेवा र वडा–वडामा मेडिकल अधिकृतमार्फत सेवा प्रवाह गरिरहनुभएको छ, यो अत्यन्त राम्रो काम हो,” उनले भने, “जनताप्रति जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गरेको पाइयो।”


ADVERTISEMENT



निरीक्षणका क्रममा उनले कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्यकर्मीहरूको टोलीलाई धन्यवाद दिँदै जनताको सेवा नै सरकारको मुख्य उद्देश्य भएको बताए।
मुख्यमन्त्री बानियाँले स्वास्थ्य र शिक्षाको अभावका कारण कुनै पनि गरिब तथा निमुखा नागरिकले पीडा भोग्न नपर्ने व्यवस्था गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको उल्लेख गरे। “स्वास्थ्य नपाएर कोही पनि मर्नु नपरोस्, शिक्षा नपाएर कोही पनि निराश बन्नु नपरोस्,” उनले भने।
उनका अनुसार बागमती प्रदेशमा १३ जिल्लामा १३ वटा प्रदेश अस्पताल र ११९ वटा स्थानीय तह रहेका छन्। प्रदेश अस्पतालहरूमा बढ्दो चापलाई कम गर्न स्थानीय तहका नगर अस्पतालहरूले प्रभावकारी सेवा दिनुपर्नेमा उनले जोड दिए।


ADVERTISEMENT

# # #



मुख्यमन्त्री बानियाँले कागेश्वरी मनोहरा नगर अस्पतालको भवन निर्माणका लागि आवश्यक ८ करोड रुपैयाँ प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै हाल १५ बेडबाट ३५ बेडसम्म सेवा विस्तार गरिसकेको अस्पताललाई १०० बेडसम्म विस्तार गर्न प्रदेश सरकारले फास्ट ट्र्याकबाट स्वीकृति दिने पनि उनले जानकारी दिए।
“गणतन्त्र भनेको गरिब र असहायको तन्त्र हो,” उनले भने, “बागमती प्रदेश सरकारले विपन्न परिवारका लागि स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने अभियान अगाडि बढाइरहेको छ, जेष्ठ नागरिकलाई समेत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य हो।”
स्थानीय सरकारसँग समन्वय गर्दै प्रदेश सरकार जनताको सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता समेत मुख्यमन्त्री बानियाँले व्यक्त गरे।