काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको पूर्वसन्ध्यामा एशोसिएट कार्यकारिणी सदस्य पदका उम्मेदवार रामशरण भण्डारीले आफ्नो स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र भावनात्मक अपिलसहित मतदातासमक्ष प्रस्तुत भएका छन्। निजी क्षेत्रको सुदृढीकरणसँगै स्वास्थ्य सेवामा परिवर्तन ल्याउने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।
भोलि हुने निर्वाचनलाई लक्षित गर्दै भण्डारीले “नयाँ पुस्ता, नयाँ ऊर्जा र सशक्त निजी क्षेत्रमार्फत सशक्त नेपाल निर्माण” को नारालाई अघि सारेका छन्। उनले महासंघभित्र नीतिगत सुधार, उद्यमशीलताको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार महासंघ केवल व्यवसायिक हितको संस्था नभई देशको आर्थिक रूपान्तरणको नेतृत्व गर्ने प्रमुख प्लेटफर्म हो, जसले सही दिशा पाए देशको समग्र विकासलाई गति दिन सक्छ।
भण्डारीले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको प्रयास नभई जिम्मेवारी बहन गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। विसं २०६५ सालतिर सिन्धुपालचोकको खाडीचौरमा स्थानीय बासिन्दाको अनुरोधमा मैँले र मेरा साथीहरूले मिलेर पहिलो अस्पताल स्थापना गर्यौँ। त्यो अस्पताल अहिले पनि सञ्चालनमा छ। त्यसपछि मेरो मेडिकल व्यवसाय पनि राम्रोसँग चलिरहेको थियो।
करिब ३० वर्षदेखि सेवा दिँदै आएको ह्याम्स अस्पताल विभिन्न कारणले बन्द हुने अवस्थामा पुगेको थियो। त्यही समयमा साथीहरूले पनि सल्लाह दिए, अनि म स्वयं पनि स्वास्थ्य क्षेत्रमा रहेकाले २०७२ सालमा ह्याम्स अस्पतालको टेकओभर गरेँ। अहिले पनि अस्पताल राम्रोसँग सञ्चालनमा छ।
करिब एक वर्षअघि थाहा पाएँ कि भक्तपुरको पुरानो “नागरिक अस्पताल” बन्द हुने अवस्थामा पुगेको रहेछ। अनुसन्धान गर्दा थाहा भयो – काठमाडौं, ललितपुर र भक्तपुर मध्ये सबैभन्दा कम अस्पताल भक्तपुरमा छन्।
भक्तापुरमा विभिन्न हिसाबले पनि जनसंख्या बढी छ । तर आपत्कालीन अवस्थामा बिरामीहरूलाई काठमाडौं पुर्याउन धेरै समय लाग्ने रहेछ। ट्राफिक जाम र तत्कालीन सुविधा नहुँदा कतिपय बिरामीको बाटोमै ज्यान गएको सुनेर म निकै दुःखी भएँ।
त्यसैले, भक्तपुरमा दोस्रो ह्याम्स अस्पताल स्थापना गर्ने योजना बनाएँ। यो अस्पताल प्रविधिक हिसाबले, जनशक्तिको हिसाबले, र भौतिक संरचनाको हिसाबले पनि आधुनिक बनाउने हाम्रो लक्ष्य छ। भविष्यमा हेलिप्याड समेत रहने योजना छ।
उनले विशेषगरी स्वास्थ्य क्षेत्रप्रति आफ्नो गहिरो लगाव र अनुभवलाई प्रस्तुत गर्दै यस क्षेत्रलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्। बिरामीलाई निको बनाएर “घर पठाउन पाउँदा जुन आनन्द मिल्छ, त्यो कुनै पनि अन्य व्यवसायमा पाइँदैन,” उनले भने, “स्वास्थ्य क्षेत्र भनेको जीवन दान हो, जहाँ सेवा दिनु भनेको मानवताको सेवा गर्नु हो।”
उनका अनुसार स्वास्थ्य सेवा केवल आर्थिक लाभसँग जोडिएको क्षेत्र होइन, यो समाजप्रतिको उत्तरदायित्व र मानवीय संवेदनासँग गाँसिएको क्षेत्र हो। “मैले बुझें—सही कर्म गर्ने मानिसले अरूलाई मात्रै होइन, आफूलाई पनि ठूलो सन्तोष दिन सक्छ,” उनले भने, “त्यसैले म यो क्षेत्रमा निरन्तर लागिरहेको छु र लागिरहनेछु।”
सरकारबाट अपेक्षित सहयोग नपाए पनि आफ्नो यात्रामा विचलित नहुने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि निजी क्षेत्रले नेतृत्व लिनुपर्ने बताए। “सरकारले सहयोग नगरे पनि म आफ्नो कर्मलाई अगाडि बढाउनेछु,” उनले दृढतापूर्वक भने, “किनकि स्वास्थ्य सेवा भनेको केवल व्यवसाय होइन, यो मानवताको सेवा हो।”
भण्डारीले अब अन्य क्षेत्रमा नजाने स्पष्ट पार्दै आफ्नो सम्पूर्ण ऊर्जा स्वास्थ्य सेवा विस्तारमै केन्द्रित गर्ने बताएका छन्। उनले नेपालमै आधुनिक प्रविधि भित्र्याएर गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेका छन्। “विश्वमा प्रयोग भइरहेका आधुनिक प्रविधि नेपालमा ल्याएर सबै रोगका बिरामीलाई सहज र प्रभावकारी उपचार दिन सकियोस् भन्ने मेरो लक्ष्य हो,” उनले भने।
उनका अनुसार नेपालमा स्वास्थ्य सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण रहेको भन्दै समयमै उपचार नपाएर धेरै नागरिकले दुःख भोग्नुपरेको अवस्था अन्त्य गर्न आवश्यक छ। उनले नयाँ प्रविधि, दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन सकिने धारणा राखे।
सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै भण्डारीले दुवै पक्ष मिलेर काम गरे मात्र देशले तीव्र विकासको गति समात्न सक्ने बताए। “सरकार र निजी क्षेत्रले मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्न सके देशले उल्लेखनीय प्रगति गर्छ,” उनले भने, “हाम्रो साझा लक्ष्य भनेको नागरिकलाई समयमै, गुणस्तरीय र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।”
महासंघको निर्वाचनलाई व्यवसायिक नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा लिँदै उनले यसलाई नीति निर्माण र आर्थिक दिशानिर्देशनसँग प्रत्यक्ष जोडिएको बताएका छन्। विभिन्न समूहका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेका बेला भण्डारीले आफ्नो स्पष्ट दृष्टिकोण, अनुभव र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले आफूलाई योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।
अन्त्यमा उनले सम्पूर्ण सदस्यहरूसँग आफ्नो उम्मेदवारीप्रति विश्वास व्यक्त गर्दै अमूल्य मत प्रदान गर्न हार्दिक अपिल गरेका छन्। “तपाईंहरूको साथ र समर्थनले मात्रै मैले सोचेका योजनाहरू कार्यान्वयन गर्न सक्छु,” उनले भने, “म निजी क्षेत्रको सशक्त आवाज बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”


























































