देश र जनताको सेवामा समर्पित मेरो यात्राको सुरुवात निकै सामान्य परिवेशबाट भएको हो । म किसान परिवारमा जन्मिएको हुँ । बुवा–आमा खेतीपाती गरेर हामीलाई पढाउनुहुन्थ्यो। उहाँहरूको दुःख देखेर मलाई सधैँ एउटा भावना आउँथ्यो—अब धेरै समयसम्म बुवा–आमासँग पैसा मागेर पढ्न हुँदैन, आफू पनि आत्मनिर्भर बन्नुपर्छ ।
त्यही सोचका साथ वि.सं. २०४६ साल असोज ३ गते नेपाल सरकारको मालपोत तथा लेखा सम्बन्धी कार्यालयमा सहलेखापाल पदबाट निजामती सेवामा प्रवेश गरेँ । त्यतिबेला म बी.कम. सेकेन्ड ईयरमा अध्ययनरत थिएँ । उमेर करिब १९–२० वर्षको थियो। जागिर सुरु गरेपछि मैले घरबाट खर्च माग्न छोडेँ।
लोकसेवा आयोगको परीक्षा दिएर सेवामा प्रवेश गरेको थिएँ । त्यसपछि मेरो पहिलो पोस्टिङ तत्कालीन जिल्ला पञ्चायत सचिवालय, सुनसरीमा भयो । त्यहाँ महिला विकास कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको थियो । स्थानीय विकास अधिकारीको निर्देशनमा रहेर काम गर्नुपर्थ्यो।
सेवाको क्रममा मैले मोरङ, सुनसरी लगायत विभिन्न जिल्लामा काम गर्ने अवसर पाएँ । जिल्ला विकास समिति, जनस्वास्थ्य, इलाका प्रशासन कार्यालय रंगेली जस्ता निकायहरूमा विभिन्न जिम्मेवारी सम्हालेँ। प्रशासनिक काम सिक्दै, अनुभव बटुल्दै अघि बढेँ।
पछि म सुब्बा पदमा बढुवा भएँ र धनकुटा, खोटाङ कारागार, केन्द्रीय कारागार तथा अध्यागमन विभागमा समेत काम गर्ने अवसर पाएँ। सरकारी सेवामा लागेपछि मैले सधैँ इमानदारी, अनुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राखेँ ।
राजस्व प्रशासनअन्तर्गत काम गर्ने क्रममा अर्थ मन्त्रालयसँग जोडिएर काम गर्ने अवसर पनि पाएँ । त्यही समयमा नयाँ आर्थिक तथा राजस्व प्रणालीहरू लागू हुँदै थिए । ती विषयमा काम गर्दै जाँदा मैले आफ्नो क्षमतालाई अझ विकास गर्ने अवसर पाएँ।
मेरो करिअरको महत्वपूर्ण उपलब्धिमध्ये एक भनेको जापानमा अध्ययन गर्ने अवसर हो । विश्व भन्सार संगठनको छात्रवृत्तिमा आफ्नै प्रयासबाट जापान जान सफल भएँ । त्यहाँ करिब एक वर्ष अध्ययन गरेँ । छात्रवृत्तिबाट मासिक ७५० डलर प्राप्त हुन्थ्यो। श्रीमती पनि सँगै जानुभएको थियो । उहाँले पनि त्यहाँ काम गरेर साथ दिनुभयो ।
आज फर्केर हेर्दा लाग्छ—सामान्य किसान परिवारबाट सुरु भएको त्यो संघर्षपूर्ण यात्रा मेहनत, इमानदारी र आत्मविश्वासकै कारण यहाँसम्म आइपुगेको हो । यही यात्राले मलाई देश र जनताको सेवा गर्ने प्रेरणा र जिम्मेवारी दियो ।
एक वर्ष जापानमा अध्ययन गरेर फर्किएपछि मैले त्यही सन्दर्भमा नेदरल्याण्डबाट पोस्ट–ग्राजुएट डिप्लोमा गर्ने अवसर पाएँ । त्यो व्यवस्थापन सूचना प्रणाली (Management Information System) सम्बन्धी एकवर्षे अध्ययन कार्यक्रम थियो । हामीलाई छ महिना पढाइ र छ महिना व्यवहारिक अभ्यास गराइएको थियो।
त्यसपछि मैले अर्थ मन्त्रालय अन्तर्गत वैदेशिक सहायता महाशाखामा काम गर्ने अवसर पाएँ । नेपालको सम्पूर्ण वैदेशिक सहायता व्यवस्थापन हेर्ने महाशाखामा रहेर काम गर्दा धेरै अनुभवी व्यक्तित्वहरूसँग सहकार्य गर्ने अवसर मिल्यो । तत्कालीन महाशाखा प्रमुख रामेश्वर खनाल लगायतका वरिष्ठ अधिकारीहरूसँग काम गर्दै प्रशासन र आर्थिक व्यवस्थापनको गहिरो अनुभव बटुलेँ।
वि.सं. २०७३ साल असोज ३ गतेदेखि म नेपाल सरकारको प्रशासन सेवामा उपसचिव पदमा प्रवेश गरेँ । त्यसपछि मेरो पहिलो प्रमुख जिम्मेवारी प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा रह्यो । भोजपुर, धनुषा, मोरङ, भक्तपुर, ललितपुर लगायत जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गर्ने अवसर पाएँ । त्यस्तै सप्तरी, सुनसरी लगायत क्षेत्रमा स्थानीय विकास अधिकारीका रूपमा पनि सेवा गरेँ ।
सेवाकै क्रममा ललितपुर महानगरपालिका, मधेश प्रदेश र लुम्बिनी प्रदेशको संस्थापक सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त भयो । प्रदेश संरचना स्थापना हुँदै गर्दा आन्तरिक मामिला तथा प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पनि भूमिका निर्वाह गरेँ ।
यसरी विभिन्न जिम्मेवारी सम्हाल्दै मैले नेपाल सरकारमा करिब ३६ वर्ष ८ महिना सेवा गरेँ । त्यो अवधिमा करिब १७ वटा भन्दा बढी महत्वपूर्ण कार्यालय तथा निकायमा काम गर्ने अवसर पाएँ ।
आज सेवा निवृत्तिको चरणमा पुग्दा एउटा गहिरो अनुभूति हुन्छ—जीवन, जगत र जागिर सबै अस्थायी हुन् । मानिस जन्मिन्छ, बुढो हुन्छ र एकदिन संसारबाट बिदा हुन्छ । यो प्रकृतिको नियम हो । जागिर पनि एउटा निश्चित समयसम्मको जिम्मेवारी मात्रै हो । त्यसैले अवकाशलाई मैले स्वाभाविक प्रक्रियाको रूपमा स्वीकार गरेको छु ।
सेवामा रहँदा सचिव बन्ने लक्ष्य थियो, तर सरकारी मापदण्ड, प्रक्रिया र परिस्थितिका कारण त्यो अवसर प्राप्त भएन । त्यसमा कुनै गुनासो छैन । मैले आफ्नो कर्तव्य र जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रयास गरेँ, त्यो नै मेरो सन्तुष्टि हो ।
मेरो विचारमा सरकारी सेवामा वृत्ति विकास भन्दा ठूलो कुरा “सेवा” हो । पदोन्नति, सुविधा, तलब यी सबै महत्वपूर्ण छन्, तर अन्ततः जनताले पाउने सेवा नै कर्मचारीको असली पहिचान हो। मैले जहाँ–जहाँ काम गरेँ, त्यहाँ मानिसहरूको समस्या व्यक्तिगत रूपमा बुझ्ने प्रयास गरेँ । प्रक्रिया भित्र रहेर समाधान खोजेँ । कसैको समस्या समाधान हुँदा उनीहरूको अनुहारमा देखिने खुसी नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।
म सधैँ एउटा कुरा विश्वास गर्छु-
“एउटा मानिसलाई खुसी बनाउनुभयो भने जीवनले तपाईंलाई धेरै शुभकामना फर्काउँछ । तर कसैलाई दुःख दिनुभयो भने त्यसको असर अन्ततः आफ्नै जीवनमा फर्किन्छ ।”
त्यसैले मैले सधैँ राम्रो बोल्ने, असल व्यवहार गर्ने र सकेसम्म सबैलाई सहयोग गर्ने प्रयास गरेँ । व्यक्तिगत आक्षेप कहिल्यै गरिएन । प्रशासनमा अनुशासन, इमानदारी र संवेदनशीलता आवश्यक हुन्छ भन्ने मैले अनुभवबाट सिकेँ ।
ऊर्जा र प्रेरणाको स्रोतबारे भन्नुपर्दा, मैले पुस्तकहरूबाट जति सिकेँ, त्योभन्दा धेरै समाजबाट सिकेँ । गाउँका किसानदेखि व्यापारी, गरिब, दुःखी, शिक्षित र अशिक्षित सबै वर्गका मानिसहरूको जीवनलाई नजिकबाट बुझेँ । नेपालजस्ता विकासशील देशमा प्रशासनको भूमिका अत्यन्त ठूलो हुन्छ भन्ने अनुभूति मैले सेवाकै क्रममा गरेँ ।
म गाउँबाट आएको सामान्य मानिस हुँ । प्रतिस्पर्धा गरेर लोकसेवाबाट प्रवेश गरेँ । त्यसैले सधैँ जनताको पीडा बुझ्ने प्रयास गरेँ । मेरो विश्वास सधैँ एउटै रह्यो— “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो ।”
आज पनि गरिब, दुःखी वा समस्यामा परेको मानिस देख्दा सहयोग गर्न मन लाग्छ । किनभने अन्ततः मानिसले चाहने कुरा धेरै ठूलो होइन—सम्मान, न्याय, सहानुभूति र समयमै पाएको सेवा हो ।
आम नागरिकको मुख्य चाहना धेरै ठूलो होइन—उसलाई दैनिक जीवन सहज बनोस्, रोजगारीको अवसर मिलोस्, आफ्ना बालबच्चाले राम्रो शिक्षा पाऊन्, र मेहनत गर्दा सम्मानपूर्वक बाँच्न सकियोस् भन्ने चाहना हुन्छ । राज्यले सबैलाई प्रत्यक्ष जागिर दिन सक्दैन, तर रोजगारी सिर्जना गर्ने वातावरण, नीति र अवसर निर्माण गर्न सक्छ। यही कुरामा राज्यको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ ।
समाजमा विभिन्न वर्गका मानिसहरू छन् । कोही अत्यन्त सम्पन्न छन्, जसलाई व्यवसाय विस्तार र प्रतिस्पर्धी वातावरण चाहिएको छ । अर्कोतर्फ, दैनिक गुजारा चलाउन संघर्ष गर्ने ठूलो वर्ग छ, जसलाई आधारभूत सुरक्षा, शिक्षा, स्वास्थ्य र आयआर्जनको अवसर आवश्यक छ । राज्यले यी दुवै वर्गलाई फरक–फरक तरिकाले सम्बोधन गर्नुपर्छ ।
सम्पन्न वर्गलाई सरल कानुनी प्रक्रिया, लगानीमैत्री वातावरण र प्रतिस्पर्धात्मक बजार चाहिन्छ । उनीहरूले नेपालमै बसेर विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनाउनु आवश्यक छ । अर्कोतर्फ, गरिब र विपन्न वर्गलाई राज्यले अनुदान, सीप विकास, रोजगारी, कृषि सहयोग, खाद्य सुरक्षा र शिक्षामार्फत माथि उठाउने नीति लिनुपर्छ ।
आज समाजमा देखिएको फ्रस्ट्रेसनको मुख्य कारण अपेक्षा र अवसरबीचको दूरी हो । सबैले पढेपछि राम्रो जागिर पाइन्छ भन्ने सोच बन्यो, तर बजारले त्यति धेरै अवसर दिन सकेन । राज्यको स्रोत सीमित छ, जनसंख्या र अपेक्षा बढ्दो छ । त्यसैले धेरै युवामा निराशा देखिन थालेको हो ।
नेपालमा कृषि, पर्यटन, जलस्रोत, जडीबुटी, उद्योगजस्ता धेरै सम्भावना छन् । तर ती सम्भावनालाई व्यवस्थित ढङ्गले उपयोग गर्न सकेका छैनौँ । उत्पादन बढाएर निर्यातमुखी अर्थतन्त्र बनाउन सकेको भए युवाले देशभित्रै अवसर पाउँथे । आज पनि नेपालले चामल, घिउ, तरकारी, जडीबुटी, जलविद्युत् जस्ता क्षेत्रमा ठूलो सम्भावना बोकेको छ । तर व्यवस्थापन, बजार पहुँच र दीर्घकालीन नीतिको अभावले ती क्षेत्र पूर्ण रूपमा उपयोग हुन सकेका छैनन् ।
देश निर्माणको सन्दर्भमा एउटा महत्वपूर्ण कुरा के हो भने—देश कर्मचारीले मात्रै बनाउँदैन, नेताले मात्रै पनि बनाउँदैन । कर्मचारीले प्रणालीलाई स्थिर राख्छ, कानुनअनुसार चलाउँछ, तर ठूलो परिवर्तन र दूरदृष्टि दिने काम राजनीतिक नेतृत्वले गर्नुपर्छ । इतिहास हेर्दा पनि परिवर्तनकारी नेतृत्वले नै देशलाई नयाँ उचाइमा पुर्याएको देखिन्छ ।
कर्मचारीतन्त्रको भूमिका भनेको राज्यलाई भत्किन नदिनु हो । उसले कानुन, प्रक्रिया र प्रशासनलाई व्यवस्थित राख्छ । तर छलाङ मार्ने निर्णय र राष्ट्रिय दृष्टिकोण राजनीतिक नेतृत्वबाट आउँछ । राम्रो नेता र सक्षम कर्मचारीबीच सही “केमिस्ट्री” भयो भने मात्र देशले गति लिन्छ ।
नेता र कर्मचारीबीचको सम्बन्ध व्यक्तिगत स्वार्थमा होइन, राष्ट्रहितमा आधारित हुनुपर्छ । नेताले दूरदृष्टि र नीतिगत दिशा दिनुपर्छ, कर्मचारीले त्यसलाई कानुनसम्मत र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्छ । यदि दुवैले राष्ट्रसेवाको भावनाले काम गरे भने सुशासन सम्भव हुन्छ ।
सुशासन भनेको केवल काम गर्नु मात्र होइन, कानुनसम्मत, पारदर्शी र जनउत्तरदायी शासन हो । “Legality with legitimacy” अर्थात् कानुनी र जनस्वीकृत शासन नै वास्तविक सुशासनको आधार हो । जनताले राज्यलाई आफ्नो संरक्षक र सहयोगीको रूपमा अनुभूति गर्न सके भने मात्र राज्यप्रति विश्वास बलियो हुन्छ।
अन्ततः आम नागरिकले चाहेको कुरा एउटै हो-
“राज्यले अवसर देओस्, न्याय देओस्, र मेहनत गरेर बाँच्न सकिने वातावरण बनाओस्।” यदि राज्यले यही आधार तयार गर्न सक्यो भने समाजमा देखिएको निराशा क्रमशः आशामा परिवर्तन हुन सक्छ।
सुशासन भनेको केवल कानुन बनाएर शासन गर्नु मात्र होइन, जनताले न्याय महसुस गर्ने गरी कानुनको कार्यान्वयन गर्नु हो । कानुनसम्मत काम भयो तर जनताले त्यसलाई न्यायपूर्ण महसुस गरेनन् भने त्यो पूर्ण सुशासन हुँदैन। तर कानुनअनुसार काम भयो, जनताले पनि त्यसलाई स्वीकारे र खुसी भए भने त्यो नै वास्तविक सुशासन हो ।
असल शासनका लागि राम्रो कानुन चाहिन्छ, त्यसभन्दा अझ महत्वपूर्ण कुरा राम्रो कार्यान्वयन हो । कार्यान्वयन पारदर्शी, निष्पक्ष र जनउत्तरदायी हुनुपर्छ। जनताले “राज्यले हाम्रो लागि काम गरिरहेको छ” भन्ने अनुभूति गर्न सके भने मात्र शासनप्रति विश्वास बढ्छ।
लोकसेवामा आउन चाहने युवाहरूका लागि मेरो अनुभवले के भन्छ भने—लोकसेवा केवल जागिर होइन, राष्ट्रसेवाको माध्यम हो । लोकसेवा पास गरेपछि मानिसको सम्पूर्ण जीवन राज्यका संरचना, नीति र जनसेवासँग जोडिन्छ । त्यसैले तयारी गर्दा केवल परीक्षा पास गर्ने उद्देश्य होइन, “म समाजलाई के दिन सक्छु?” भन्ने सोच पनि हुनुपर्छ ।
आज लोकसेवाप्रति आकर्षण राम्रो छ । अझ योग्य र सक्षम युवाहरूलाई आकर्षित गर्न लोकसेवा आयोगले विद्यालय, कलेज र विश्वविद्यालय तहमा अझ धेरै जनचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ । सरकारले पनि कर्मचारीको सेवा–सुविधा, सुरक्षा र वृत्ति विकासलाई सम्मानजनक बनाउनुपर्छ । राम्रो कर्मचारीलाई सम्मान, प्रोत्साहन र सुरक्षित भविष्यको अनुभूति भयो भने अझ गुणस्तरीय जनशक्ति लोकसेवामा आउँछन् ।
मेरो सेवायात्रामा धेरै अविस्मरणीय घटनाहरू छन् । कसैको वर्षौँदेखिको जग्गा विवाद समाधान गरिदिएको, मिलापत्र गराएर परिवार जोडिएको, आर्थिक लेनदेनका जटिल मुद्दा धैर्यपूर्वक सुनेर समाधान गराएको—यी सबै घटनाले सेवा भनेको केवल प्रशासनिक काम होइन, मानिसको जीवनसँग जोडिएको जिम्मेवारी रहेछ भन्ने अनुभूति गरायो ।
निजामती सेवालाई अझ बलियो बनाउन पारदर्शिता, निष्पक्षता र प्रोत्साहन प्रणाली आवश्यक छ । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र अवसर दिनुपर्छ, गलत गर्नेलाई उचित कारबाही हुनुपर्छ । दण्ड र पुरस्कार दुवै प्रणाली प्रभावकारी भए मात्र कर्मचारीतन्त्र सबल हुन्छ।
त्यस्तै, तालिम र क्षमता विकास अत्यन्त आवश्यक छ । कर्मचारीलाई नियमित रूपमा नयाँ सोच, प्रविधि, सेवा प्रवाह, सार्वजनिक व्यवस्थापन र नेतृत्व सम्बन्धी तालिम दिनुपर्छ । जस्तो ‘पेन्सिल’लाई बेला–बेला तिखार्नुपर्छ, त्यस्तै कर्मचारीलाई पनि समयअनुसार अद्यावधिक गरिरहनुपर्छ ।
मलाई यो यात्रामा साथ दिने नेपाल सरकार, वरिष्ठ अधिकारीहरू, सहकर्मीहरू, साथीभाइ र परिवारप्रति सधैँ कृतज्ञता छ । विशेष गरी मलाई सिर्जनशील र नवीन सोचतर्फ प्रेरित गर्नुहुने डा. विमल काेईरालाजस्ता व्यक्तित्वहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु।
अब सेवा निवृत्तिपछि समाजसेवा, कृषि र सकारात्मक सोचका कार्यक्रममार्फत समाजसँग जोडिएर बस्ने सोच बनाएको छु । मानिसलाई प्रेरणा दिने, सकारात्मक ऊर्जा बाँड्ने र अनुभव साट्ने काम गर्न चाहन्छु ।
जीवनको अन्तिम निष्कर्ष के हो भन्ने लाग्छ भने-
मानिसले खोज्ने कुरा अन्ततः सुख, शान्ति र आत्मिक आनन्द रहेछ।
सुख भनेको केवल धेरै सुविधा हुनु होइन । स्वतन्त्रता, सन्तुलन र आत्मसन्तुष्टि नै वास्तविक सुख हो । मानिसले आफ्नो चाहना र आवश्यकताको सीमा आफैँ बुझ्नुपर्छ । चाहनाको सीमा नहुँदा कहिल्यै सन्तुष्टि आउँदैन ।
म बिहान साढे चार बजे उठेर प्राणायाम गर्छु । त्यो समयमा भगवान, बुवा–आमा र आफ्ना अग्रजहरूलाई सम्झन्छु । त्यसपछि दिनभर मन शान्त रहन्छ । रिस, द्वेष र तनाव कम हुन्छ ।
अन्ततः जीवनलाई खुसी बनाउने उपाय बाहिर होइन, आफ्नै सोच, व्यवहार र सन्तुलनभित्र रहेछ । “आफ्नो सीमाभित्र रमाउन सिक्ने मानिस नै वास्तवमा सुखी हुने रहेछ।” अब म यस्तै अभ्यासहरूमा अभ्यस्त रहिरहनेछु ।
– (ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहसचिव प्रेमप्रसाद भट्टराईले सेवानिबृत्त हुने अघिल्लो दिन २०८३ बैशाख २३ गते हिमालय पाेष्टसंग गरेकाे कुराकानीमा आधारित)





































































