ललितपुर – ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.७ अन्तर्गत चाँगाथलीमा नयाँ स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ।


ADVERTISEMENT


नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर ले गरेका हुन्। कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने उपमेयर लक्ष्मी महर्जन लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष बाबुराजा महर्जन को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महालक्ष्मी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रत्येक वडाका स्वास्थ्य चौकीलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउँदै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताए। उनले राज्यले निःशुल्क स्वास्थ्य सेवाको अवधारणालाई प्रभावकारी बनाउन यस्ता आधारभूत स्वास्थ्य संस्थाहरूलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए।

यसैबीच वडा अध्यक्ष बाबुराजा महर्जनले हिमालय पोस्टसँग कुराकानी गर्दै चाँगाथली स्वास्थ्य चौकी भवन निर्माणमा कुल १ करोड १४ लाख रुपैयाँ लागत लागेको जानकारी दिए। उनका अनुसार स्वास्थ्य चौकीबाट हाल १४ प्रकारका सेवाहरू सञ्चालनमा रहेका छन्।

उनले भिडियो एक्सरे, ल्याब सेवा तथा नेपाल सरकारले तोकेका औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको बताए। साथै बागमती प्रदेशले चाँगाथली स्वास्थ्य चौकीलाई ललितपुर जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकीमध्ये छनोट गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी, चुस्त र गुणस्तरीय सेवा प्रवाहका लागि थप योजना र सुविधा ल्याइने जानकारी दिए।

स्थानीयवासीले नयाँ भवन सञ्चालनमा आएपछि चाँगाथली क्षेत्रका नागरिकले सहज, व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्।