काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जिकिर गरेका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन,’ सभापति लामिछानेले भने, ‘सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन ।’
पार्टीको सभापति, सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न हिंडेको भन्ने कसैलाई लागेको भए त्यो भ्रम मात्रै भएको उनको भनाइ छ । ‘मलाई जीवनीमा ठूलो इच्छा छैन । जीवनी लेख्नु ठूलो कुरा होइन । हामी इतिहास लेख्ने यात्रामा छौं,’ सभापति लामिछानेले भने ।


























































