काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीको दैलोमा आउने सेवाग्राही कुनै न कुनै पीडा, अन्याय वा समस्याबाट गुज्रिएको अवस्थामा आउने भएकाले उनीहरूलाई निराश नभई खुशी बनाएर फर्काउने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
आज जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा नव-निर्मित “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” भवन उद्घाटन समारोहमा बोल्दै आईजिपी कार्कीले नेपाल प्रहरी अब केवल परिवर्तनको चरणमा नभई व्यवहारिक रूपान्तरणको दिशामा अघि बढिरहेको स्पष्ट पारे ।
उनले प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक संरचना, सवारी वा साधन स्रोत मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रहरीको बोलीवचन, आचरण र सेवाशैलीबाटै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधार अपरिहार्य रहेको धारणा ब्यक्त गरे । “हामी नागरिकका लागि काम गरिरहेका छौं भन्ने कुरा व्यवहारमै प्रमाणित हुनुपर्छ, नत्र भौतिक संरचनाको कुनै खास अर्थ रहँदैन,” उनले भने ।
आईजिपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजका अत्यन्त संवेदनशील वर्ग भएकाले उनीहरूको सुरक्षा, सहायता र न्याय सुनिश्चित गर्नु नेपाल प्रहरीको प्राथमिक दायित्व भएको उल्लेख गर्दै नव-निर्मित सेवा केन्द्रहरूले पीडित तथा सेवाग्राहीलाई सुरक्षित, सहज र सम्मानजनक वातावरणमा सेवा प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रहरी कर्मचारीहरू सीमित स्रोतसाधन र कठिन परिस्थितिका बीच निरन्तर नागरिक सेवामा खटिरहेको उल्लेख गर्दै प्रहरीको कार्य वातावरण सुधारलाई पनि समान रूपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “प्रहरी पनि यही समाजका सदस्य हुन्, ४० डिग्रीको गर्मीमा सडकमा उभिने प्रहरीलाई पनि घामपानीबाट जोगिने ओत आवश्यक हुन्छ,” उनले भने ।
प्रहरी कार्यालय, ब्यारेक तथा सेवा केन्द्रहरूको अवस्था अझै पनि कतिपय स्थानमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले दातृ निकाय, स्थानीय तह र समुदायले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे । साथै, UNOPS ले नेपाल प्रहरीको पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सेवा सुधारमा पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउँदै UNOPS ले हालसम्म ४४ वटा सेवा केन्द्र भवन निर्माण सम्पन्न गरिसकेको र थप ८ वटा निर्माणाधीन रहेको जानकारी पनि उनले दिए ।
आईजिपी कार्कीले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने क्रममा Nepal Police App मार्फत घरबाटै उजुरी तथा गुनासो दर्ता गर्न सकिने र त्यसको प्रगति अनुगमन गर्न सकिने व्यवस्था विस्तार भइरहेको बताए । साथै, आपतकालीन अवस्थामा GPS लोकेसनसहित सहायता माग गर्न सकिने Panic Mode प्रणाली विकास भइरहेको जानकारी दिए ।
उनले न्यायिक तथा सामाजिक विवादमा अनावश्यक व्यक्तिहरूको हस्तक्षेप बढ्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै यसले न्याय प्रक्रियामा असर पार्ने, आर्थिक भार बढाउने र कमजोर वर्गलाई अन्यायमा पार्ने जोखिम बढाएको बताए । पीडितको गोपनीयता, मर्यादा र सुरक्षालाई केन्द्रमा राखेर मात्र समाधान प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए । आईजिपी कार्कीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै कानुनअनुसार सेवा दिन नसकिने अवस्थामा स्पष्ट जानकारीसहित सम्बन्धित निकायमा सहजीकरण गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे ।
अन्त्यमा उनले उद्घाटित भवनलाई केवल भौतिक संरचना नभई प्रहरी–नागरिक विश्वास, सहकार्य र भरोसाको प्रतीकका रूपमा विकास गर्नुपर्ने बताए । “यो भवनसँगै हाम्रो सेवा भावना पनि बलियो हुनुपर्छ,” उनले भने । कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
































































