ललितपुर – नक्कली सुनका गहना धितो राखेर ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरका एक सुनचाँदी व्यवसायीलाई “आमा बिरामी भएकाले उपचारका लागि रकम आवश्यक परेको” भन्दै विश्वास दिलाएर सुन धितो राखी ऋण माग्ने तथा नक्कली बिल बिजक तयार गरी पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनको लेप लगाइएको नक्कली गहना धितो राखी ५ लाख रुपैयाँ ऋण लिएपछि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ स्थायी घर भएकी ४५ वर्षीया मिना कुमारी सुनुवार, दोलखा वैतेश्वर गाउँपालिका–१ घर भई हाल भक्तपुर मध्यपुरथिमी नगरपालिका–४ बस्ने ३८ वर्षीय कालीदास धतानी तथा झापा अर्जुनधारा नगरपालिका–३ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ बस्ने २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने तिलहरी ३ थान, ठिक्का ६ थान, हरियो पोतेसहितको तिलहरी १ थान, सुनजस्तो देखिने चुरा १ जोर तथा चाँदीजस्तो देखिने तिलहरी १ थान बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























































