काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी दर्ता भएका छन्।
समितिले सार्वजनिक सूचना जारी गर्दै योग्यतामाथि प्रश्न भए उजुरी दिन आग्रह गरेपछि विभिन्न पक्षबाट उजुरी परेको हो।
उजुरीहरूमा न्यायिक निर्णय, प्रशासनिक कार्यशैली, वरिष्ठताको विषय तथा न्यायालयभित्रको नेतृत्व क्षमतामाथि प्रश्न उठाइएको बताइएको छ।
केही उजुरीकर्ताले न्यायपालिकाको गरिमा जोगाउन निष्पक्ष र पारदर्शी नियुक्ति आवश्यक रहेको उल्लेख गरेका छन्।
संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीमाथि अध्ययन सुरु गरिसकेको छ।
समितिले उजुरीकर्तासँग थप विवरण माग्ने तथा प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग समेत स्पष्टीकरण लिने तयारी गरेको जनाएको छ।
उजुरीका बाबजुद संवैधानिक परिषद्ले शर्मालाई योग्य ठहर गर्दै नाम सिफारिस गरेको थियो।
अब संसदीय सुनुवाइ प्रक्रियापछि मात्रै उनको नियुक्तिको बाटो खुल्नेछ।
राजनीतिक तथा कानुनी वृत्तमा भने शर्माविरुद्ध परेको उजुरीलाई चासोका साथ हेरिएको छ।
कतिपयले यसलाई न्यायपालिकाभित्रको असन्तुष्टिको संकेतका रूपमा समेत व्याख्या गरेका छन्।


























































