काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभाग (IRD) को ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई सहयोग गर्ने उद्देश्यले आफ्नो एमबीएल एम–स्मार्ट (MBL M-SMART) मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ (IRD)’ सेवा सञ्चालनमा ल्याएको छ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरेको करदाता प्रोत्साहन कार्यक्रमअनुसार डिजिटल भुक्तानीलाई प्रोत्साहन, कर प्रणालीलाई थप पारदर्शी बनाउने तथा बिल लिने संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको छ।
यस कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी बैंक वा वालेटको मर्चेन्ट QR मार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन्। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता पर्दैन।
बैंकका ग्राहकले एमबीएल एम–स्मार्ट एपमा लगइन गरी ‘Bill Jitau (IRD)’ मेनुबाट योग्य कारोबारको संख्या, विस्तृत विवरण तथा आफू उपहार विजेता भए/नभएको जानकारी सहज रूपमा हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपछि १ लाख रुपैयाँ तथा हरेक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा माथिका प्रत्येक खरिदमा मर्चेन्ट QR मार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा PAN/VAT बिल लिन, बिल सुरक्षित राख्न तथा ‘Bill Jitau (IRD)’ मेनुमार्फत आफ्ना योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।
बैंकले डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। साथै “डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर नछुटाऔँ” भन्ने सन्देशसहित कार्यक्रममा सक्रिय सहभागिताका लागि ग्राहकलाई आह्वान गरेको छ।


























































