भक्तपुर – वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ ले स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणका लागि योगको महत्वपूर्ण भूमिका रहेको छ ।


ADVERTISEMENT


भक्तपुरको चाँगुनारायण नगरपालिका लाई “योग नगर” घोषणा गरिएको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले योगलाई केवल शारीरिक अभ्यासका रूपमा नभई जीवनशैलीसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


चाँगुनारायण नगरपालिकाद्वारा आयोजित “योग नगर घोषणा”, ‘चाँगु यं’ ज्योति सन्देश स्मारिका विमोचन तथा योग विज्ञान शिविर कार्यक्रममा बोल्दै उनले योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका साथै सामाजिक सद्भाव र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

मुख्यमन्त्री बानियाँले आधुनिक जीवनशैलीका कारण मानिसमा बढ्दो तनाव र विभिन्न स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न योग प्रभावकारी माध्यम बन्न सक्ने बताएका छन् । उनले स्वस्थ नागरिक निर्माण नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै स्थानीय तहहरूले स्वास्थ्य प्रवर्द्धनसँग जोडिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
उनले चाँगुनारायण नगरपालिका ले योग तथा स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा थालेको अभियान प्रशंसनीय रहेको बताएका छन् । कार्यक्रममा ‘चाँगु यं’ ज्योति सन्देश स्मारिकाको विमोचन समेत गरिएको थियो ।

योग विज्ञान शिविरमा सहभागीहरूले योग अभ्यास तथा स्वास्थ्यसम्बन्धी जानकारी लिएका थिए । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, योग प्रशिक्षक, स्थानीयवासी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।