काठमाडौं – मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा गणतन्त्र दिवस, २०८३ भव्यताकासाथ मनाउने सम्बन्धमा बागमती प्रदेश सरकार मूल समारोह समितिको बैठक प्रदेश सुशासन केन्द्रको सभाहल, हेटौंडामा सम्पन्न भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले गणतन्त्र जनताको बलिदान, संघर्ष र त्यागबाट स्थापित भएको व्यवस्था भएकाले यसको रक्षा र सुदृढीकरणमा सबै एकजुट हुनुपर्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गणतन्त्रले नेपाली जनतालाई अधिकार, समानता र सहभागिताको अनुभूति दिलाएको उल्लेख गरेका छन्।
मुख्यमन्त्री बानियाँले गणतन्त्र केवल शासन परिवर्तनको विषय नभई जनताले आफ्नै प्रतिनिधिमार्फत देश सञ्चालन गर्ने प्रणाली भएको बताए। “जनताकै छोरा–छोरी राज्यको नेतृत्व तहसम्म पुग्ने वातावरण गणतन्त्रले निर्माण गरेको छ,” उनले भने, “यो व्यवस्था सबै वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने साझा प्रणाली हो।”
उनले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि प्रदेश र स्थानीय तहसम्म समावेशी प्रतिनिधित्वको अभ्यास गणतन्त्रकै उपलब्धि भएको धारणा राखेका छन्। गणतन्त्र दिवसलाई शहीदहरूको सपना स्मरण गर्ने र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्।
मुख्यमन्त्री बानियाँले गणतन्त्रलाई अझ जनमुखी र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए। उनले व्यवस्था भित्र देखिएका कमी–कमजोरीलाई सुधार गर्दै सुशासन, पारदर्शिता र विकासमार्फत जनविश्वास अझ बलियो बनाइने उल्लेख गरे। “गणतन्त्र जनताको आफ्नै व्यवस्था हो भन्ने अनुभूति प्रत्येक नागरिकले गर्न सक्नुपर्छ,” उनले भने।
बागमती प्रदेश सरकारले हरेक वर्ष गणतन्त्र दिवसलाई विशेष कार्यक्रमका साथ मनाउँदै आएको उल्लेख गर्दै उनले लोकतन्त्रको संस्थागत विकास र नागरिक अधिकारको संरक्षणमा प्रदेश सरकार निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी तथा नागरिक समाजका अगुवाको सहभागिता रहेको थियो। अन्त्यमा मुख्यमन्त्री बानियाँले कार्यक्रममा सहभागी सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।


























































