काठमाडौं – हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।
गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मन्त्रालयका सचिवको संयोजकत्वमा बसेको आकस्मिक बैठकले रक्षा सचिवसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा उक्त निर्णय गरेको हो। टोलीलाई तत्काल घटनास्थलमा खटिएर आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय भएको उल्लेख गर्दै हुम्ला र बाजुरा दुवै जिल्लामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका विशेष टोली परिचालन गरिएको जानकारी दिइएको छ।
सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्नसमेत भनिएको छ।
मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई थप आवश्यक सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको उल्लेख गर्दै विवादको स्थायी समाधान र समन्वयका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको जनाएको छ।
गृह मन्त्रालयले आम नागरिकको जीउधनको सुरक्षा तथा सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।




























































